दलाई लामाका विशेष दूतसँग राष्ट्रपति र प्रधानमन्त्रीको यो कस्तो सम्बन्ध ?

काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्ने बौद्ध भिक्षु मास्टर कर्मा तन्पाइ ग्याल्सेनको पहुँच, प्रभाव र सम्बन्ध स्वतन्त्र तिब्बतको माग गर्दै निर्वासनमा रहेका धर्मगुरु दलाई लामासम्म रहेको खुलासा भएको छ ।

नेपालका राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरुसँग सहजै पहुँच र सम्बन्ध कायम गर्न सक्ने मास्टर कर्मा नेपालमा मात्र होइन, भारतसम्म पुगेर नेपाल र भारतका सरकार प्रमुखहरुसँग पनि परामर्श गर्न सक्ने खुबी रहेको तथ्यहरुले देखाउँछ ।

भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीलाई दिल्लीस्थित नेपाली दूतावासमा स्वागत गरेका मास्टर कर्माले फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त भएका ओलीलाई उनकै निजी निवास बाल्कोटमा फागुन ६ (फेब्रुवरी १८) गते भेटी उनको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी नयाँ संविधान बमोजिम मुलुकको नयाँ राष्ट्रपति पदमा विद्यादेवी भण्डारी पुनः निर्वाचित भएपछि भण्डारीले पद तथा गोपनीयताको सपथ लिएपश्चात फागुन ३० गते (मार्च १४)मा शीतल निवास पुगी दोस्रो कार्यकालको सफलता र उनको सुस्वास्थ्यको कामना गरेका थिए ।

नागार्जुन नगरपालिकास्थित सेतो गुम्वाका मास्टर कर्मा तन्पाइ ग्यालसेनले सार्वजनिक गरेका तस्विरहरुले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीलाई मात्र होइन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि तिब्बतीयन धर्मगुरु दलाई लामासँग पनि भेटी आर्शिवाद लिएका थिए ।

मास्टर कर्माले स्वतन्त्र तिब्बतको माग गर्दै निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामालाई भारतको बोधगयामा माघ ११ गते (जनवरी २५) भेटी उनीबाट आर्शिवाद लिएका थिए ।

मास्टर कर्माले यति सहजै र उच्चप्राथमिकताकासाथ नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई कसरी भेट्न सक्छन् भनि सामाजिक सञ्जालमा प्रश्न उठन थालेको छ ।

गत शुक्रबार भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ओली, पराराष्ट्रमन्त्री ज्ञावाली लगायतका उच्च पदाधिकारीहरुलाई नेपाली दूतावासमा आयोजित सम्मान कार्यक्रममा मास्टर कर्माले सबैभन्दा पहिले स्वागत गरेका थिए ।

Published : Monday, 2018 April 9, 5:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया