आलोचना मत्थर गर्न देउवाले उठाए विशेष कदम, विरोधीहरू पनि चकित

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रिक्त पदाधिकारी मनोनयनका लागि तयारी अघि बढाएका छन् ।

स्रोतका अनुसार ३ वैशाखदेखि पुनः सुरु हुने स्थगित केन्द्रीय समितिको बीचमा नै पदाधिकारी मनोनीत गर्ने र केन्द्रीय समितिबाट त्यसलाई अनुमोदन गर्ने देउवाको तयारी छ । ३ वैशाखबाट पुनः सुरु हुने केन्द्रीय समितिको बीचमा यी विषयमा निर्णय हुन सक्ने सम्भावना छ ।

आफ्नै समूहका भनिएका धेरै नेता आकांक्षी भएपछि देउवाले १३औं महाधिवेशन सकिएको २६ महिना बित्दासम्म पनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन् ।

यसपटक भने उनले संसदीय दलको निर्वाचन समेत सकिएको र आफूलाई सहयोग गरेकाहरूको सूची नै बनाएर जिम्मेवारी सुम्पिने तयारी गरेका हुन् । केन्द्रीय समितिमा सो सूचीलाई ल्याउने र बैठकबाटै टुंगो लगाउने स्रोतको दाबी छ ।

पार्टीभित्र रिक्त पदाधिकारीसहित केन्द्रीय सदस्य र बाँकी अन्य निकाय गठन गर्न ढिला हुँदा सभापति देउवाको पार्टीभित्र चर्को आलोचना हुने गरेको छ ।

कांग्रेस विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ । बैठकमा केन्द्रीय सदस्य भने थप हुने सम्भावना छैन ।

यसपटक भने देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी तीनै जना आफ्नै खेमाको पार्ने गरी रणनीति बनाएको स्रोतले बतायो । पार्टी विधानमा व्यवस्था भएअनुसार सभापतिले एक जना उपसभापति, एक महामन्त्री र एक जना सहमहामन्त्री केन्द्रीय समितिमा प्रस्ताव गर्न पाउनेछन् ।

देउवाले विमलेन्द्र निधिलाई उपसभापति बनाउने मनस्थिति बनाएको एक नेताले बताए । उपसभापतिमा पार्टी दुई धारमा रहँदा देउवा धारमा नै रहेका र कार्यवाहक सभापतिसमेत भइसकेका नेता गोपालमान श्रेष्ठलाई ल्याउन आफ्नै गुटभित्र दवाव छ । उनी आफूले सिनियर नेता भएकाले उपसभापति पाउनुपर्ने भन्दै लबिङ गरिरहेका छन् ।

नेता विजयकुमार गच्छदारलाई पनि के गरी व्यवस्थापन गर्ने भन्नेमा देउवाले ध्यान दिइरहेका छन् । उनका लागि विधान परिमार्जन गर्दा नयाँ पद सिर्जना गर्न सकिनेतर्फ पनि देउवाले सोच्दै आएको उनी निकट नेताहरू बताउँछन् ।

निर्वाचितबाहेकका एक महामन्त्री पदका लागि पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्काको नाम देउवा निकटका अन्य सहयोगीहरूले बढी चर्चामा ल्याएका छन् ।

अघिल्लो सरकारमा अर्थमन्त्रीको हैसियतमा देउवालाई सघाएका नेता ज्ञानेन्द्रबहादु्र कार्कीको पनि महामन्त्रीका लागि उत्तिकै चर्चा छ । यसैगरी, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी पाएका नेता बालकृष्ण खाँडको पनि महामन्त्रीमा चर्चा छ ।

संसदीय दलको निर्वाचनका बखत मिलेर अघि बढौं भन्ने सन्देश लिएर वरिष्ठ नेताको दैलोमा देउवाद्वारा पठाइएका नेता रमेश लेखक पनि देउवाको रोजाइमा पर्न सक्ने सम्भावना अत्यधिक छ ।

दलको नेतामा देउवालाई ल्याउन लेखक सक्रिय भएर लागेका थिए । उनी नै दलको नेतामा उम्मेदवारी दिएका नेता प्रकाशमान सिंहलाई उपनेतामा व्यवस्थापन गर्ने र अन्य विषयमा समेत सहमति गरेर अघि बढ्ने देउवाको सन्देश लिएर पौडेल निवास पुगेका थिए ।

Published : Monday, 2018 April 9, 11:11 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया