ओलीले भारततिर झुकाव राखेपछि रिसायो चीन, लियो यसरी बदला

काठमाडौं । एमाले र माओवादी केन्द्रलाई ‘वाम एकता’ र पार्टी एकीकरणमा दवाव दिएको चीनले कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको दृष्टिले हेरेको छ । ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गरेपछि बेइजिङ सशंकित हुन पुगेको हो ।

ओलीसँग बेइजिङ असन्तुष्ट छ भन्ने कुराको संकेत बोआओ फोरममा नेपाललाई निम्तो नपठाएर जाहेर गरेको छ । एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्न चीनले ठूलो दवाव दिएको दुबै दलका नेताहरू अनौपचारिक फोरमहरूमा स्वीकार्छन् ।

तर, ओलीले भारतसँग निकटता बढाएपछि बेइजिङलाई पटक्कै मन परेको छैन । नेपालको आन्तरिक राजनीतिमा दख्ल राख्न सुरु गरेको चीनको यो असन्तुष्टिको मूल्य वर्तमान कम्युनिष्ट सरकारले चुकाउनु पर्ने हो कि भनेर विश्लेषण समेत हुन थालेको छ ।

चीनको हैनानमा आयोजना हुँदै आएको एसियाका लागि बोआओ फोरम फर एसिया (बोआओ)का लागि महत्वपूर्ण मानिन्छ । बोआओ फोरममा चीनले प्रत्येक पटक बोलाउँदै आएको छ । यो फोरममा नेपालबाट राष्ट्र प्रमुखले भाग लिँदै आएका थिए ।

भारतको तीन दिने राजकीय भ्रमणबाट प्रधानमन्त्री ओली आइतबार साँझ स्वदेश फर्किदै छन् । स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री चीन जाने गरी परराष्ट्र मन्त्रालयले तयारी गरेको थियो । तर, प्रधानमन्त्री ओली चीन नजाने भएका छन् ।

बोआओ फोरमको वार्षिक सम्मेलन आइतबारदेखि हैनान प्रान्तको बोआओमा सुरु भएको छ । ‘विश्वको समृद्धिका लागि खुला तथा नवीन एसिया’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनका अन्तिम सहभागीहरूको नाम फोरमले सार्वजनिक गरेको छ ।

बोआओ फोरमले सार्वजनिक गरेको सम्मेलनका ‘डेलिगेट’हरूको सूचीमा प्रधानमन्त्री ओलीको नाम छैन ।

सम्मेलनमा चीनका राष्ट्रपति सी जिङपिङसँगै अष्ट्रियाका राष्ट्रपति अलेक्सजेन्डर भान डेर बेलेन, फिलिपिन्सका राष्ट्रपति डुतेर्ते, मंगोलियाका प्रधानमन्त्री युखानागिन खुरेल्सुख, नेदरल्याण्डका प्रधानमन्त्री मार्ट रुथ, पाकिस्तानका प्रधानमन्त्री शाहीख खाकन अब्बासी, सिंगापुरका प्रधानमन्त्री ली हेनि लुङ सहभागी हुँदै छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस, पाकिस्तानका पूर्व प्रधानमन्त्री सौकत अजिजसहित विभिन्न देशका पूर्व राष्ट्रपति र प्रधानमन्त्रीसहित ६२ जना राजनीतिक प्रतिनिधिहरू सहभागी हुँदैछन् । चीनले बनाएको यति लामो सूचीमा नेपाल र नेपालका कम्युनिष्ट प्रधानमन्त्री अट् सकेनन् ।

सम्मेलनमा १३७ व्यावसायिक नेतृत्वहरू सहभागी हुँदै छन् । ४२ बौद्धिक व्यक्तित्वहरूको सहभागिता हुने फोरमको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

यस अघि २०१७ को सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल विशेष वक्ताका रूपमा निम्ताइएको थिए । सन् २०१६ मा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका थिए । सन् २०१५ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव अतिथिको रूपमा सहभागी भएका थिए ।

Published : Sunday, 2018 April 8, 6:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया