फेरि देखियो मैदानमा रोनाल्डोको जादु

लण्डन । क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स फुटबलको इतिहासमा आफ्नो निकै सुन्दर गोल गर्दै टिमलाई जित दिलाएका छन् ।

च्याम्पियन्स लिग फुटबल क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत मंगलबार राति अवे मैदानमा भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब युभेन्टसलाई ३–० ले हराएको हो ।

सन् २०१७ को फाइनलमा भेट भएको युभेन्टसलाई हराउने क्रममा रियलका लागि रोनाल्डोले दुई तथा मार्सेलोले एक गोल गरे ।
रोनाल्डोले तेस्रो मिनेटमा नै गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।

पहिलो हाफमा इटालियन क्लबले बराबरी गर्ने मौका बनाएको थियो । तर सफल हुन सकेन । यस्तै रियलका टोनी क्रुजले गोल गर्दै अग्रता दोब्बर बनाएने प्रयास गरेका थिए । तर उनको प्रहार क्रसबारमा लागेर फर्कियो ।

पहिलो हाफमा गोल गर्दै च्याम्पियन्स लिगका लगातार १० खेलमा गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले दोस्रो हाफमा निकै सुन्दर गोल गरे । ६४ औँ मिनेटमा रोनाल्डोले सुन्दर बाइसाइकल गोल गरे ।

ड्यानी कार्वाहालले रोनाल्डोलाई क्रस दिए । रोनाल्डोले हावामा उडेर एरोबाटिक किक हान्दै युभेन्टसका जियानलुइजी बुफोनलाई छलेर बाइसाइकल गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । यो गोलबाट रियलका मात्रै होइन युभेन्टसका फ्यान पनि उचालिए । उठेर हुटिङ्ग गरे ।

त्यसको दुई मिनेटपछि पाउलो डिबाला दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भयो ।

७२ औँ मिनेटमा मार्सेलोले गोल गरेपछि जिनेदिन जिदानको टिम रियलले पहिलो लेगमा ३–० को जित निकाल्दै अन्तिम ४ को यात्रालाई केही सजिलो र धेरै सम्भावनायुक्त बनायो ।

रोनाल्डोले क्लब र राष्ट्रिय टिमबाट गरी पछिल्ला १३ खेलमा २५ गोल गरिसकेका छन् । – एजेन्सी

Published : Wednesday, 2018 April 4, 11:31 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया