सहयोगीका कारण ट्रम्पलाई झट्का

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सल्लाहकार तथा ह्वाइटहाउसकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेकी छन् । हिक्स राष्ट्रपति ट्रम्पसँग लामो समय काम गर्नेमध्येकी एक प्रमुख सल्लाहकार हुन् ।

राजीनामा दिनुपर्ने प्रस्ट कारण उल्लेख नगरे पनि ट्रम्पसँग मतभेद बढेपछि उनले राजीनामा दिन लागेको अनुमान गरिएको छ । उनी ट्रम्प अर्गनाइजेसनकी पूर्वकमर्चारीसमेत हुन् । उनले लामो समयदेखि ट्रम्पलाई साथ दिँदै आएकी छन् ।

पूर्वमोडलसमेत रहेकी २९ वर्षीया हिक्स लामो समयदेखि ट्रम्पको पक्षमा उभिएकी थिइन् । मंगलबार एउटा संसदीय समितिमा प्रमाण दिने क्रममा उनले राष्ट्रपति ट्रम्पको पक्षमा झुटो बोलेको स्वीकार गरेकी थिइन् ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रसियाको हस्तक्षेपबारे अनुसन्धान गरेको छानबिन समितिसमक्ष उनले मंगलबार नौ घन्टा लामो विवरण दिएकी थिइन् ।

तर, सो विवरणसँग उनको राजीनामा नजोडिएको ह्वाइटहाउसले जनाएको छ । ट्रम्प प्रशासनमा सञ्चार प्रमुखका रूपमा सेवा गर्ने उनी चौथो व्यक्ति थिइन् । समितिसमक्ष आफूले कुनै कुरा नढाँटेको उनले बताएकी छन् ।

ह्वाइटहाउसकी प्रवक्ता सेराह स्यानर्डसले हिक्स कहिलेबाट अलग हुन्छिन् भन्नेबारे प्रस्ट भइनसकेको बताइन् । हिक्सले ह्वाइटहाउसमा गर्नुपर्ने सबै कर्तव्य कुशलतापूर्वक निर्वाह गरेको र आफ्ना सहकर्मीलाई सदैव सम्मान गरेको बताइन् ।

अमेरिकी संसद्को गुप्तचर समितिमा मंगलबार दिएको बयानसँग आफ्नो राजीनामा सम्बन्धित नरहेको हिक्सले बताइन् । आफूले ह्वाइटहाउसमा गर्नुपर्ने सबै जिम्मेवारी पूरा गरेर बिदा हुन लागेको उनले बताइन् ।

संसदीय समितिसमक्ष हिक्सले राष्ट्रपति ट्रम्पको पक्षमा झुटो बोलेको स्वीकार गरेकी थिइन् । एउटा विज्ञप्तिमा हिक्सले आफूले ट्रम्पलाई कुनै पनि शब्दमा धन्यवाद व्यक्त गर्न नसक्ने बताइन् ।

हिक्सले आफ्नो कार्यकालमा निकै लो प्रोफाइलमा रहेर काम गरिन् । तर, उनी विवादरहित हुन सकिनन् । उनको ह्वाइटहाउसका सचिव रोब पोर्टरसँग सम्बन्ध रहेको विभिन्न पत्रपत्रिकाले जनाएका थिए । पोर्टरमाथि आफ्ना पूर्वपार्टनरलाई घरेलु हिंसा गरेको आरोप लागेको छ ।

गत महिना पोर्टरविरुद्ध घरेलु हिंसाको आरोप लाग्दा हिक्सले पोर्टरको बचाउ गरेकी थिइन् । ट्रम्पले एन्थ्रोनी स्कारामुसीलाई ह्वाइटहाउसको सञ्चार प्रमुखबाट बर्खास्त गरेपछि हिक्स गत अगस्टमा नियुक्त भएकी थिइन् ।

हिक्सको बहिर्गमन ट्रम्पका लागि ठूलो झड्का भएको जनाइएको छ । राष्ट्र«पति ट्रम्पले उनलाई साँच्चिकै असल मानिस भन्दै उनको अभाव खट्किने बताएका छन् । राष्ट्रपति निर्वाचनमा उनी प्रेस सेक्रेटरीको भूमिकामा थिइन् ।

राष्ट्रपति ट्रम्पले उनले निकै राम्रोसँग आफ्नो जिम्मेवारी बहन गरेको भन्दै भविष्यमा पनि उनीसँग काम गर्ने चाहना रहेको जनाएका छन् । ‘हिक्स निकै फुर्तिली महिला हुन् । उनले विगत तीन वर्षदेखि मलाई सहयोग गर्दै आएकी थिइन् । उनको अभाव मलाई सधैँ खट्किरहनेछ । आगामी दिनमा पनि हामीबीच पुनः सहकार्य हुने विश्वास गरेको छु,’ ट्रम्पले भने । – न्युयोर्क

Published : Friday, 2018 March 2, 8:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया