कम्युनिष्टहरूले घेराबन्दी गरेकै बेला देउवालाई कांग्रेसभित्र ठूलो दवाव

काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मासहितका सातजना केन्द्रीय सदस्यले केन्द्रीय कार्यसमिति र महासमिति वैठकको माग गरेका छन् ।
वीपी कोइरालाले अंगिकार गरेको मेलमिलाप दिवसको अवसर पारेर उनीहरूले केन्द्रीय समिति र महासमिति बैठकको माग गरेका हुन् ।
विज्ञप्ति जारी गर्नेमा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, प्रदीप पौडेल र बद्री पाण्डे रहेका छन् ।
निर्वाचनका सन्दर्भमा खडा अनेक प्रश्नहरूको हल खोज्न तथा नयाँ चुनौतीको सामना गर्न पनि आत्मचिन्तन र विशेष तयारीको जरुरी रहेको उनीहरूले बताएका छन् ।
उनीहरूले पार्टीका आधिकारिक फोरमहरूमा छलफल चलाउनका लागि वैठकको माग गरेको उल्लेख गरेका छन् ।
‘पार्टी हार्दैछ भन्ने पूर्वआभास हुँदा तदनुकूल निर्वाचन रणनीति अख्तियार किन भएन ? पार्टीका सबै तहदेखि भातृ संस्थाहरूको समुचित परिचालन किन गरिएन ? निर्वाचन दौरानमा प्रतिपक्षहरूको लाञ्छना र आरोपलाई समयमै प्रतिवाद गर्न किन सकिएन ? हामीले नेतृत्व गरेको सरकारले जनअपेक्षाअनुसार किन काम गर्न सकेन ? हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धन किन राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन ?’, विज्ञप्तिमा भनिएको छ ।
‘यस्ता पेचिला प्रश्नको जवाफ खोज्नका लागि पनि तत्काल केन्द्रीय कार्यसमिति र महासमितिको बैठक बोलाउन आवश्यक छ’, युवा नेताहरूले भनेका छन् ।
नेताहरूले पार्टीभित्र आपसी द्वेष, गुटगत भावना, आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सुदृढ र आधुनिक काँग्रेसको बलियो आधारशीला खडा गर्न सबैले संकल्प गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, काँग्रेसलाई बदल्ने छौं’, नेताहरूले भनेका छन्, ‘राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्याउने छौं ।’
कांग्रेसको महाधिवेशनको समयमा अलगअलग कित्तामा उभिएका कांग्रेसका यी सात नेताहरू एक ठाउँमा उभिएर पार्टीको वृहत्तर हितको लागि आवाज उठाउँदै गर्दा यसले कांग्रेसभित्र दवाव सुरु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत