चीनमा बन्यो जमिन र पानीमा अवतरण गर्ने विमान

बेइझिङ । चीनमा जमीन र पानी दुवैमा अवतरण तथा उडान गर्न सक्ने संसारकै सबैभन्दा ठूलो विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ ।

लगभग बोइङ ७३७ को आकारको उक्त एजी६०० विमानमा चारवटा ‘टर्बोप्रप’ इन्जिन छन् । विमानले ५० यात्रु बोक्न सक्ने र १२ घण्टासम्म उड्न सक्ने बताइएको छ ।

यो विमान आगलागी नियन्त्रण तथा सामुद्रिक दुर्घटनाहरूमा उद्धारका लागि प्रयोग हुने बताइएको छ । तर यसको सैन्य उपयोगिता पनि छ । यो विवादित साउथ चाइना सी क्षेत्रमा पनि प्रयोगमा आउन सक्ने ठानिएको छ ।

‘कुनलोङ्’ नाम दिइएको उक्त विमान सो क्षेत्रमा चीनले आफ्नो भाग भनी दावी गरेको सबैभन्दा दक्षिणी कुनासम्म पुग्न सक्छ ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाले उक्त विमानलाई समुद्र र द्वीपहरूको ‘संरक्षक’का रुपमा चित्रण गरेको छ । साउथ चाइना सीसम्बन्धी चिनियाँ नीतिको विभिन्न छिमेकी मुलुकहरूले प्रतिवाद गरेका छन् ।

राष्ट्रसंघ समर्थित एउटा न्यायाधिकरणले साउथ चाइना सीको अधिकांश क्षेत्रमाथिको चिनियाँ दावी गत वर्ष खारेज गरिदिएको थियो ।

दक्षिणी प्रान्त ग्वाङडोङबाट विमानले उडान भरेको सरकारी टेलिभिजनमा प्रत्यक्ष देखाइएको थियो ।

फर्कदाँ उक्त विमानलाई सैनिक धुनसँगै मानिसहरूले झण्डा हल्लाएर स्वागत गरेका थिए । विमान बनाउन आठ वर्ष लगाइएको थियो ।

त्यसले साढे ५३ टनसम्मको भार लिएर उड्न सक्नेछ । विमानको पखेटाको एउटा कुनाबाट अर्कोसम्मको दूरी करिब ३९ मिटर अर्थात् १२७ फिट छ ।

चीनभित्रबाटै त्यस्ता खाले १७ वटा विमान मगाइएका छन् । एजी ६००, आफ्नो प्रकारको विमानमध्ये अहिलेको समयको सबैभन्दा ठूलो हो । अर्बपति होवार्ड ह्युजको प्रख्यात उड्ने डुंगा त्योभन्दा ठूलो थियो ।

‘द स्प्रुस गुज’ अर्थात् ‘ह्युज एच–फोर हर्कुलिस’को पखेटा साढे ९७ मिटर लामो थियो । त्यसले सन् १९४७ मा एकपटक मात्रै उडान गरेको थियो र त्यो जम्मा २६ सेकण्डको थियो । कहिले उडेन र अहिले त्यसलाई ओरेगोनको संग्रहालयमा राखिएको छ ।

Published : Monday, 2017 December 25, 7:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया