देउवाले ‘टाईट’ गरेपछि ‘विप्लव’ पुगे अजित दोभलको संरक्षणमा

काठमाडौं । सरकारले निर्वाचनलाई शान्तिपुर्ण र भयरहित बनाउने निर्णयसहित सुरक्षाकर्मी परिचालन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भारतको शरणमा पुगेको खुलासा भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शान्ति सुरक्षा कायम गर्न कुनै पनि कसर बाँकी नराख्न र जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिनेवित्तिकै ‘नेकपा’का महासचिव ‘विप्लव’ भारतको शरणमा पुगेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

‘नेकपा’का महासचिव ‘विप्लव’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दोभलबीच साँठगाँठ रहेको स्रोतले जनाएको छ । दोभलको संरक्षण पाएकै कारण ‘विप्लव’ले निर्वाचन विरोधी गतिविधी गरिरहेको जनाइएको छ ।

माओवादीको सशस्त्र द्वन्द्वका बेला पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन बैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, बाबुराम भट्टराई, कृष्णबहादुर महरा सहितका शीर्ष नेताहरू भारतकै संरक्षणमा भारतका विभिन्न स्थानमा बस्दै आएका थिए ।

सरकारले शान्ति सुरक्षामा कडाइ गरेपछि ‘विप्लव’ भारततर्फ प्रस्थान गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाको निर्देशनमा निर्वाचन विरोधी गतिविधीमा संलग्न रहेको आरोपमा ‘विप्लव’ र उनको समूहलाई पक्राउ गर्न प्रहरीको विशेष टोलीले नै खटिएको छ । उनीहरूलाई निर्वाचन अगाडि नै पक्राउ गरेर हदैसम्मको कारबाही गर्न देउवाले यसअघि नै निर्देशन दिइसकेका छन् ।

पहिलो चरणको चुनावअघि नै ‘विप्लव’लाई मोबाइलमार्फट ट्रयाक गरी राजधानीबाटै प्रहरीले पक्राउ गर्न खोजेको थियो । प्रहरीले पक्राउ गर्दै छ भन्ने सुइको पाएपछि ‘विप्लव’ले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाकार दोभललाई फोन सम्पर्क गरेर भारतमा लुक्न गएको स्रोतले जनाएको छ ।

अजित दोभल र विप्लवबीच राम्रो सम्बन्ध रहेको नेकपा (माओवादी)का नेताहरूले नै बताउने गरेका छन् । महासचिव विप्लव भारतको इशारामा चल्ने गरेको पनि आरोप छ ।

अजित दोभलको निर्देशनमा नेकपाका महासचिव ‘विप्लव’लाई भारतीय गुप्तचर संस्था ‘रअ’ले उत्तर प्रदेशकोे लखनउस्थित राष्ट्रिय सर्किट हाउसमा राखेको प्रहरी स्रोतले जनाएको छ ।

Published : Wednesday, 2017 December 6, 9:30 pm

1 प्रतिकृया प्राप्त “देउवाले ‘टाईट’ गरेपछि ‘विप्लव’ पुगे अजित दोभलको संरक्षणमा”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया