चितवनमा लोकतान्त्रिक गठबन्धनले ‘क्लीन स्वीप’ गर्छ

– शेषनाथ अधिकारी, उम्मेदवार, नेपाली कांग्रेस, चितवन २

चितवन जिल्लामा अलिक धेरै राजनीतिक चहल पहल बढिरहेको छ । वाम गठबन्धनलाई टक्कर दिन नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएपछि चितवनमा चुनावी माहोल तात्तिएको हो । चितवन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता तथा राज्यमन्त्री शेषनाथ अधिकारीले उम्मेदवारी दिएका छन् । एमालेले जितेको यो क्षेत्रमा यसपटक नेपाली कांग्रेसले बाजी मार्ने योजनाका साथ चुनावी तयारी गरिरहेको छ । अधिकारीले चितवनका सबै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले जित्ने बताएका छन् । यसै विषयमा कांग्रेस उम्मेदवार अधिकारीसँग गरिएको कुराकानी :–

नेपाली कांग्रेसले माओवादी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’लाई सहयोग गर्छ कि गर्दैन ?

धोका दिएर जाने नेताका रुपमा प्रचण्डलाई कांग्रेसले चिनेको छ । सत्तासाझेदार भएर सरकारमा पनि बस्ने । कांग्रेसलाई हराउन प्रमुख विपक्षी दलसँग कम्युनिष्ट गठबन्धन बनाएर निर्वाचनमा आउने ? यस्तो चरित्र भएको पार्टी माओवादीलाई चितवनका मतदाताले भोट हाल्दैनन् । कांग्रेसले माओवादीबाट धोका पाइसक्यो । अब प्रचण्डले कांग्रेसको भोट पाउनु हुन्न । सहयोग गर्ने कुरै रहँदैन ।

सरकारमा त सँगै हुनुहुन्छ नि ?

माओवादी भन्ने पार्टीमा अलिकति राजनीतिक ईमान्दारिता नै छैन । प्रचण्डले कांग्रेससँग दश वर्ष सहकार्य गरेर जाने भन्नुभएको थियो । त्यही आधारमा नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेणु दाहाललाई जिताउन ईमान्दारिताका साथ लाग्यौ । पार्टी सभापति शेरबहादुर देउवाले समेत भूमिका खेल्नुभयो । छोरीले जित्नेवित्तिकै प्रचण्डजी त एमालेसँग मिलेर कांग्रेसलाई हराउन लाग्नुभयो । माओवादी आफैले सरकार छाड्नु पर्ने हो । तर, सत्तामा आफै टाँसिएर बस्नुभएको छ । राजनीतिक नैतिकता नभएकाहरूलाई कांग्रेसले केही भन्दैन ।

तपाईले चितवन क्षेत्र नं. २ बाट जित्ने आधार के–के छन् ?

नेपाली कांग्रेसले संविधान बनायो । संविधान कार्यान्वयनको चरणमा छ । अब देशको विकास गर्नुपर्छ । कांग्रेसको एजेण्डा देशको विकासमा केन्द्रित । चितवनमा बाटो निर्माणदेखि शिक्षा, स्वास्थ्य सहितका हरेक क्षेत्रमा मैले काम गरेको छु । मेरो क्षेत्रका मतदाताले कांग्रेसका उम्मेदवारहरूको पक्षमा मतदान गर्नु हुन्छ । हाम्रो जित सुनिश्चित छ ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले तपाईलाई जित्न दिँदैनौ भनेका छन् नि ?

मुखले भनेर मात्रै हुँदैन । जनताले पत्याउनु पर्छ । मैले मेरो क्षेत्रमा काम गरेको छु । कांग्रेसको संगठन राम्रो छ । वाम गठबन्धनले चितवनमा जित्दैन । लोकतान्त्रिक गठबन्धनले जित्छ । मलाई हराउन वाम गठबन्धनको तागत छैन ।

तपाईको प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले कांग्रेसले सिन्को पनि भाँचेको छैन भन्नुभएको छ ?

उहाँले के भन्नु भएको छ मलाई थाहा भएन । तर, चितवनको विकास कांग्रेसले गरेको हो । विकासका योजनाहरू कांग्रेसले ल्याएको हो । एमालेका नेताहरू भनेका गफ गर्ने मात्रै हुन् । कांग्रेसले थोरै कुरा, धेरै काम गर्छ । यसअघि कृष्णभक्त पोखरेलजीले जितेर जानुभएको थियो । उहाँले अहिलेसम्म आफ्नो क्षेत्रमा के–के काम गर्नुभयो भन्न सक्नु हुन्छ ? सक्नु हुन्न । कांग्रेसले गरेका विकास योजनामा एमालेको दाबी मात्रै हो । कांग्रेसले काम गर्‍यो कि गरेन भनेर जिल्लामा आएका विकासका योजनाहरूको सूची हेरे भैहाल्न नि ।

प्रचण्डले कांग्रेसले मलाई नै सहयोग गर्छ भन्नुभएको छ नि ?

यि सब कुरा प्रचण्डका चुनावी कुरा मात्रै हुन् । कांग्रेसले कहिल्यै पनि लोकतन्त्रलाई कमजोर हुन दिँदैन । यदि प्रचण्डजी कांग्रेससँग बसेर लोकतन्त्रलाई बलियो बनाउन लाग्नु भएको भए हुन्थ्यो । तर, उहाँले दुःखका बेला साथ दिएको कांग्रेसलाई छाडेर एमालेको पछि लागेर पोइल जानु भयो । यस्ता भर नभएको नेता र पार्टीलाई कांग्रेसको साथ रहँदैन ।

प्रचण्डको छोरी रेणुलाई जिताएर कांग्रेसले ठूलो गल्ती गर्‍यो होइन ?

कांग्रेसले केही गल्ती गरेको छैन । सत्ता गठबन्धनको ईमान्दारिता निभएको हो । हो प्रचण्डले यति छिटो धोका दिएर लोकतन्त्रलाई नै खतरामा पार्छन् भन्ने कुराको हेक्का कांग्रेस र कांग्रेसका नेताहरूलाई भएन । उहाँ जस्तो स्वार्थी नेताले एमालेलाई पनि धोका दिँदैनन् भन्ने कुनै ज्ञारेन्टी छैन । वाम गठबन्धनमा पलाएको अहँकार र घमण्डले गर्दा कांग्रेसलाई फाइदा नै छ ।

चितवनमा कांग्रेसको संगठन भताभुङ्ग भएको छ भन्छन् नि ?

कांग्रेसको संगठन अहिले आएर झन् मजबुद बनेको छ । बिपक्षी दलहरूले लगाएको आरोपमा कुनै सत्यता छैन । कांग्रेससँग कम्युनिष्ट गठबन्धन डराएको छ । कांग्रेसका उम्मेदवारहरू उच्च मनोबलका साथ चुनावी प्रचारमा छन् । चितवनमा सुदृढ बन्दै गएको नेपाली कांग्रेसको संगठनले ‘क्लीन स्वीप’ गर्ने अवस्था आउँदैछ ।

एमाले र माओवादी केन्द्रका नेताहरूले कांग्रेसलाई लगाएको आरोप खण्डन गर्दैमा तपाईहरूको दिन जाने गरेको छ भन्छन् नि ?

त्यस्तो केही पनि होइन । कांग्रेसलाई जनताको साथ छ । चितवनका मतदाताहरूले आफैमा जानकार छन् । कसले के भन्छन् भन्ने कुरा राम्रोसँग बुझेका छन् । यस्तो अवस्थामा कसैले बोलेका कुरा खण्डन गरेर हिँड्नुपर्ने आवश्यक्ता छैन । कांग्रेसले आफ्ना एजेण्डा जनता समक्ष लैजान्छ । मतदाताहरूलाई सम्झाउँछ । कांग्रेसले जानेको कुरा यही हो । कुन कम्युनिष्ट पार्टीको नेताले के भन्छ भनेर पछि लाग्ने समय हामीलाई छैन ।

वाम गठबन्धनले चितवनलाई कब्जा गर्दैछौँ भनेका छन् नि ?

नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धन कुनै अवस्थामा पनि कमजोर छैन । चुनावको मतपरिणामले पनि देखाउँछ । अब धेरै दिन बाँकी छैन । कांग्रेस डराउनु पर्ने अवस्था छैन । लोकतान्त्रिक पद्धतिमा गइसकेपछि विपक्षीहरूले जित्छु भन्नु स्वभाविक हो । तर, चितवन भनेको नेपाली कांग्रेसको गढ हो । चितवनका मतदाताले लोकतन्त्र चाहन्छन् । कम्युनिष्टहरूको निरंकुशता चाहँदैनन् । लोकतान्त्रिक शक्तिलाई जिताएर देखाइदिन्छन् ।

प्रचण्डजीले हार्नु हुन्छ कि जित्नु हुन्छ ?

प्रचण्डजीले मात्रै होइन चितवन जिल्लामा कम्युनिष्ट पार्टीहरूको वाम गठबन्धनका सबै उम्मेदवारले पराजय भोग्ने छन् । उनीहरूले चितवनमा गर्नुपर्ने कुनै पनि काम गरेका छैनन् । चुनावको मुखमा आएर यत बजेट ल्याएँ, यस्ता यस्ता योजना पारेको छु भन्नु सबै वाह्यिात हुन् । काम गर्नेले सुरुदेखि नै गर्नुपर्छ । जसरी नेपाली कांग्रेसले काम गर्छ त्यसै गरेर गर्नुपर्छ । प्रचण्डजी राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ ।

तर, उहाँले चितवन क्षेत्र नं. ३ बाट पराजय भोग्ने निश्चित छ । काठमाडौं क्षेत्र नं. १० मा ०७० सालको संविधानसभा निर्वाचनमा जसरी पराजय भोग्नुभयो त्यसै गरी पराजित हुने पक्का छ । पराजित हुने डरले प्रचण्डजीले एमालेको पुच्छर समातेर चुनावमा आउनु भएको छ । यो कुरा सबै जनताले बुझेका छन् । पराजित हुने डरले गर्दा प्रचण्डले आफ्नो क्षेत्र छाडेर कतै जानु भएको छैन ।

बाँदरमुढेका पीडितले प्रचण्डलाई कुनै पनि हालतमा जित्न दिने छैनन् । चितवनका जनताले त्यति ठूलो नरसंहारलाई भुलेका छैनन् । प्रचण्डजीले भुल्नु भयो होला तर, मतदाताले भुलेका छैनन् ।

Published : Thursday, 2017 November 30, 12:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया