कम्युनिष्ट शासन आयो भने रुन पनि पाइँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरूले मुलुकमा अधिनायकवाद लाद्न खोजिरहेको आरोप लगाएका छन् ।

पार्टी मुख्यालय सानेपामा मंगलबार घोषणा पत्र सार्वजनिक गर्न आयोजित विशेष कार्यक्रममा देउवाले कम्यनिष्टहरूको शासन आयो भने देशमा डरत्रास मात्रै रहेन बताए ।

‘कम्युनिष्टहरूले अधिनायकवाद लाद्न खोजिरहेका छन्’, उनले भने, ‘कम्युनिष्टहरूको शासन आयो भने देशमा डरत्रास मात्रै सिर्जना हुन्छ । रुन पनि पाइन्नँ, अन्याय भो भन्न पनि पाइँदैन ।’ उनले त्यस्तो अवस्था सिर्जना हुन नदिन जनताले कांग्रेसलाई जिताउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा कांग्रेसले नजिते देश बर्बाद हुने चेतावनी दिए । देउवाले राणाहरूले निहूँ खोजेका कारण उनीहरूलाई कांग्रेसले फालेको बताए ।

‘पञ्चहरुलाई फाल्यौँ, राजा ज्ञानेन्द्रले अति गरेपछि उनलाई पनि फाल्यौँ, कांग्रेसले हरेक संकटबाट देशलाई पार लगाउँदै आएको छ’, उनले भने, ‘यसपटक कम्युनिष्टहरूलाई फाल्ने अवस्था आएको छ ।’ देउवाले वाम गठबन्धनपछि देशमा प्रजातन्त्र खतरामा परेको दाबी गरे ।

‘अन्तर्राष्ट्रिय जगतले पनि विश्वास गरेको पार्टी कांग्रेस मात्रै हो’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले मुलुकको विकास गर्न र आर्थिक समृद्धि ल्याउन कांग्रेसलाई जिताउनुहोस् ।’

Published : Tuesday, 2017 October 31, 6:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया