कार्यालय प्रमुख अनुपमा र मेकानिकल अधिकृत तुलाकान्तलाई अख्तियारद्वारा रंगेहात पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत (छैटौँ) तुलाकान्त चौधरीलाई घुस, रिसवतको रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।
बोरिङ र मोटर जडानबापतको रकम भुक्तानी दिने समयमा सेवाग्राहीलाई हैरानी दिई घुस मागेको आरोपमा ढकाल र चौधरीलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।
सेवाग्राहीसँग घुस मागेको भन्ने गोप्य सूचना र उजुरीका आधारमा खटिएको टोलीले शुक्रबार सर्लाहीको बागमती नगरपालिका वडा नं. १२ स्थित डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मारेको थियो । सोही क्रममा सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपियाँ घुस रकमसहित उनीहरू पक्राउ परेका हुन् ।
खानतलासी गर्दा कार्यालय प्रमुखको क्वाटरबाट उक्त घुस रकमका अतिरिक्त स्रोत नखुलेको थप ७१ हजार ११५ रुपियाँ र ३ थान मोबाइलसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।
जल उपभोक्ता समितिमार्फत बोरिङ तथा मोटर जडानको काम सकेर भुक्तानी लिन जाँदा डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीले मिलेमतो गरी घुस मागेको अनुसन्धानबाट खुलेको छ ।
रकमसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको अख्तियारले जनाएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया