ईन्स्पेक्टर कल्पना र लीलबहादुरको काण्डमा भ्रष्टाचारको पनि अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपालको एपीएफ स्कुल कीर्तिपुरकी लेखा अधिकृत सशस्त्र प्रहरी निरीक्षक (ईन्स्पेक्टर) कल्पना गुरुङ र ट्राभल्स सञ्चालक लीलाबहादुर लामा तामाङमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान शुरु गरेको छ ।

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पु¥याउन नहुने सम्बन्धी कसूर पनि देखिएकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अनुसन्धान अगाडि बढाउन अख्तियारमा पठाइएको काठमाडौं प्रहरीका प्रवक्ता (एसपी) पवनकुमार भट्टराईले बताए ।

दुवैजनालाई असार २० गते पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । जिल्ला अदालत काठमाडौंबाट म्याद थप गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएकोमा भ्रष्टाचार निवारण ऐनअन्तर्गतको कसूर देखिएसँगै शुक्रबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र काठमाडौं प्रहरीले अख्तियार पठाएको थियो ।

आइतबार अख्तियारले विशेष अदालतमा उपस्थित गराएर १० दिनको म्याद लिएको छ । यसअघि उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले चार पटक म्याद थप गरिसकेको थियो ।

विद्यालयको लेखापाल रहेकी कल्पनाले ११ करोड हिनामिना गरेको आरोप छ । सशस्त्र प्रहरीले गरेको आन्तरिक छानबिनमा अनियमितता देखिएको र संगठनबाहिरका व्यक्तिको समेत संलग्नता देखिएपछि थप कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो ।

कल्पनाले २०८२ मंसिरदेखि नै संगठनलाई गमराहमा राखेर रकम हिनामिना गरेको आरोप छ । उनले ५ करोड जम्मा गरिएको दाबी गर्दै बैंक भौचर केन्द्रमा पठाए पनि रकम भने जम्मा नगरेको खुलेको थियो ।

त्यसअघि पनि कल्पनाले २ करोड जम्मा गरेको भन्दै पत्राचार गरेकी थिइन् । रकम जम्मा नगरेको पाइएपछि संगठनले थप ताकेता गरेको थियो ।

अनुसन्धानका क्रममा एमडी टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुरको खातामा रकम पाइएको छ । अब प्रहरी र अख्तियारले एकसाथ अनुसन्धान अगाडि बढाएका हुन् ।

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर उनीहरूमाथि ठगी र आपराधिक विश्वासघातको कसूरमा अनुसन्धान भइरहेको छ ।

Published : Sunday, 2026 July 26, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया