कप्तानगञ्ज घटनाको छानविन गर्न पाँच सदस्सीय समिति गठन

काठमाडौं । सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु र ९ जना घाइते भएपछि सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्था असहज बन्दै गएपछि सरकारले सुनसरी घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिएकी छिन् । समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताको समय दिइएको छ ।

सुनसरी घटनाबारे छलफल गर्न सोमबार (आजै) साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग मन्त्रालयमा छलफल आयोजना गरेका छन् । सोही छलफलपछि ५ सदस्यीय समिति गठन भएको छ ।

छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायत सहभागी थिए ।

Published : Monday, 2026 July 27, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया