ओली, प्रचण्ड र देवीबीच गोप्य सहमति, बालकोटमा सेल्फी

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई असुरक्षित ठानेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी ओली र भरतपुर महानगरपालिकामा मेयरमा पदमा पराजित देवी ज्ञवालीबीच वार्ता भएको छ ।

भक्तपुरको बालकोटस्थित एमालेका अध्यक्ष ओलीको निवासमा बुधबार भएको वार्तामा ओली, प्रचण्ड र ज्ञवालीबीच चितवन क्षेत्र नं. ३ को निर्वाचनका बेला ईमान्दारिताका साथ लाग्ने सहमति भएको हो । ज्ञवालीलाई ओलीले दवाव दिएपछि प्रचण्डलाई चितवनमा जिताउन आफू चुनावी कमाण्डर बन्न तयार रहेको आश्वासन दिएको स्रोतले जनाएको छ ।

यसअघि रिपब्लिका दैनिक डटकमले ज्ञवालीले प्रचण्डलाई हराएर बदला लिने समाचार प्रकाशित गरेको थियो । त्यति मात्रै होइन ज्ञवालीले एमाले र माओवादी केन्द्रको वाम तालमेल र पार्टी एकीकरणको विषयप्रति असन्तुष्टि जनाएको समाचार पनि सम्प्रेषण गरेको थियो । सो समाचारले गर्दा प्रचण्ड एमाले नेता ज्ञवालीसँग डराएका थिए ।

ज्ञवालीसँग आत्तिएका प्रचण्डले चितवन ३ छाडेर बर्दियामा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी समेत भएको थियो । तर, एमालेका उपाध्यक्ष बामदेव गौतमले बर्दिया निर्वाचन क्षेत्र नछाड्ने अडान लिएपछि प्रचण्ड चितवनमै प्रतिस्पर्धा गर्न तयार भएका हुन् ।

आफ्नो पक्षमा माहोल बनाउन प्रचण्डले ओली र ज्ञवालीलाई सँगै राखेर आफू सुरक्षित हुन् प्रयास गरेको बालकोट स्रोतले जनाएको छ । वार्तापछि प्रचण्ड, ओली र ज्ञवालीले सामूहिक रुपमा तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । प्रचण्डका छोरा प्रकाश दाहालले समेत ज्ञवालीसँग सेल्फी लिएर फेसबुक पेजमा राखेका छन् ।

उता, कांग्रेसको समर्थनमा चितवन ३ बाट राप्रपाका प्रभावशाली नेता तथा वन मन्त्री बिक्रम पाण्डेले उम्मेदवारी दिने तयारी गरेका छन् । पाण्डे सो क्षेत्रमा चर्चित नेता हुन् । प्रचण्डलाई पाण्डेले हराउन अभियान नै सुरु गरिसकेका छन् । ३ नं. क्षेत्रमा कांग्रेस र राप्रपाभन्दा माओवादी केन्द्र धेरै कमजोर छ ।

Published : Wednesday, 2017 October 25, 6:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया