भारतले खेल्यो खतरनाक खेल, दीपकुमारलाई टिकट दिन दवाव

काठमाडौं । राजदूत पदबाट राजीनामा दिएका दीपकुमार उपाध्यायले कपिलवस्तुबाट प्रतिनिधि सभामा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उपाध्याय शुक्रबार नयाँदिल्लीबाट विदाइ भएर काठमाडौं आइपुगेका छन् । उनले टिकटका लागि कांग्रेस नेता र शक्ति केन्द्रहरूको ढोका ढकढक्याउन सुरु गरिसकेको स्रोतको भनाइ छ । तर, सभापति शेरबहादुर देउवाले उपाध्यायलाई टिकट दिन नसक्ने बताइ सकेका छन् ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य र पूर्वमन्त्री भइसकेका उपाध्याय राजदूत बन्न पुगेका थिए । भारतले नाकाबन्दी लगाएका बेला सरकारलाई असहयोग गरेपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजदूत पदबाट हटाइ दिएका थिए ।

कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा सरकार बनेपछि त्यस बेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र भारतको दवावमा उपाध्ययालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए ।

उपाध्यायले कपिलबस्तु क्षेत्र नम्बर १ वा २ मध्येबाट प्रतिनिधि सभामा उम्मेदवारी दिने तयारी गरेका छन् । जिल्लामा कांग्रेसको संगठन गर्ने बेला लाभका पदमा बसेर सिन्को पनि नभाँचेका उपाध्यायले फेरि टिकटमा लफडा गरेको भन्दै कपिलवस्त कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

स्रोतका अनुसार उपाध्यायलाई टिकट दिएमा उनले स्वतः पराजय भोग्नुपर्ने कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको ठहर छ ।
२०७० सालको संविधान सभा निर्वाचनमा उपाध्याक्ष कपिलवस्तुु–१ बाट नराम्रोसँग पराजित भएका थिए । टिकटका लागि उपाध्यायले भारतमार्फत कांग्रेस नेताहरूलाई दवाव दिइरहेको खुलासा समेत भएको छ ।

कांग्रेस जिल्ला समितिले प्रतिनिधि सभाका लागि कपिलवस्तु क्षेत्र नम्बर १ बाट लोकप्रिय नेता अतरकमल मुसलमान र राजेश आचार्यको नाम सिफारिस गरेको छ । मुसलमानले दोस्रो संविधानसभाका बेला कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट निर्वाचन जितेका थिए । सभापति शेरबहादुर देउवा निकट मानिने मुसलमानका पक्षमा कपिलवस्तुमा एकाएक माहोल बढ्दै गएको एक नेताले बताए ।

कपिलवस्तु क्षेत्र नम्बर २ बाट जिल्ला सभापति सुरेन्द्र आचार्यको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट संघीय समाजवादी फोरम छाडेर कांग्रेसमै फर्किएका अभिशेषप्रताप साहको नाम सिफारिस भएको छ । शाह पनि सो क्षेत्रका लोकप्रिय नेता हुन् ।

Published : Monday, 2017 October 23, 7:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया