एमालेको निर्णयले गुन्डा नाइके मनाङगे चकित, अब एमाले छाड्ने

काठमाडौं । राप्रपाको जिल्ला कार्यसमितिसहित एमालेमा प्रवेश गरेका गुन्डा नाइके दीपक मनाङगे उर्फ राजीव गुरुङलाई एमालेले प्रदेश सभाका लागि टिकट दिएको छैन ।

टिकट नपाएपछि मनाङगे चकित परेका छन् । मनाङगेको नाम प्रदेश सभाका लागि सिफारिस भएपछि एमालेभित्रै र बाहिर बिरोध हुँदै आएको थियो ।

एमालेले मनाङमा प्रतिनिधि सभा सदस्यमा पोल्देन छोपाङ गुरुङलाई टिकट दिएको छ । प्रदेश सभामा ‘१’ मा खण्ड लामा गुरुङ र ‘२’ मा दोर्जे डण्डल गुरुङले टिकट पाएका छन् ।

टिकट नपाएपछि रन्थनिएका गुन्डा नाइके मनाङगेले फेरि एमाले परित्याग गर्ने योजना बनाएका छन् । सुरुवाती दिनमा कांग्रेस रहेका मनाङगे राजावादी हुँदै राप्रपामा प्रवेश गरेका थिए ।

एमालेले टिकटको लोभ देखाएपछि गुन्डा नाइके मनाङगे एमालेमा प्रवेश गरेका हुन् । अब ओलीले मनाङगेलाई कुनै पनि पद नदिने जनाएका छन् ।

गुन्डा नाइके मनाङगेले आफूलाई टिकटबाट रोक्न ठूलो प्रयास भएको भन्दै विज्ञप्ति समेत जारी गरेका थिए । एमालेको निर्णयले गुन्डा नाइके मनाङगेलाई प्रदेश सभाको विधायक बन्ने सपनामा धक्का लागेको छ ।

एमालेका अध्यक्ष केपी ओलीले केही दिन अगाडि प्रज्ञाभवनमा आयोजित सिस्नुपानी नेपालको देउसी भैलोपछि पत्रकारसँग कुरा गर्दै कुनै पनि गुन्डाले टिकट नपाउने प्रतिक्रिया दिएका थिए ।

उता, मनाङ जिल्लाका एमालेका युवाहरूले पार्टी छाडेर कांग्रेस प्रवेश गरेका छन् । गुन्डा नाइके मनाङगेको ज्याति सहन नसकेर एमालेका सयौँ युवाहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

Published : Saturday, 2017 October 21, 2:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया