ओलीले थर्काएपछि ‘प्रचण्ड’ अचानक पछि हटे

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार छाड्ने निर्णय सच्याउन कडा निर्देशन दिएका छन् ।

‘प्रचण्ड’ले मंगलबार आफ्नो दलको शीर्ष नेताहरूको बैठक राखेर सरकारबाट पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गराएका थिए । माओवादीले सरकार छाड्ने निर्णय गरेको चालपाएपछि तत्काल ओलीले ‘प्रचण्ड’को सातो लिने गरेर हप्काएको स्रोतले जनाएको छ । ओली र दाहालबीच सिंहदरबारमा गोप्य वार्ता भएको थियो ।

‘मसँग सल्लाह नै नगरेर कांग्रेसलाई सजिलो हुने गरी सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय किन गर्नुभयो ?’, ओलीले ‘प्रचण्ड’लाई हप्काउँदै भने, ‘सरकार छाड्ने होइन । तपाईको निर्णय सच्चाएर सरकारमा बसिरहनुस् ।’ ओलीको निर्देशनपछि ‘प्रचण्ड’ले सल्लाह गरेर ठोस निर्णय लिनेछु भन्दै बाहिरिएका थिए ।

हुन त ‘प्रचण्ड’ले ओलीसँग भेट गर्नु अगाडि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । वार्तामा प्रधानमन्त्री देउवाले ‘प्रचण्ड’लाई ‘सरकारमा बसेर प्रमुख विपक्षी दलसँग वाम गठबन्धन गरेर कांग्रेसलाई हराउन भूमिका खेल्ने यस्तो कुरा विश्वमा कतै पनि हुँदैन । तपाईका मन्त्रीहरू फिर्ता बोलाउनुस् । होइन भने माओवादीका सबै मन्त्रीलाई विनाविभागीय बनाउँछु’ भनेर चेतावनी दिएको स्रोतको भनाइ छ ।

विनाविभागीय मन्त्री बनेर बेइज्ज सहनुभन्दा माओवादीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर अगाडि बढ्दा राम्रो हुने सुझाव उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले ‘प्रचण्ड’लाई दिएको स्रोतको भनाइ छ । तर, गृहमन्त्री जनार्दन शर्माले सरकार छाड्न नहुनेभन्दै ‘प्रचण्ड’लाई एमाले अध्यक्ष ओलीकै शैलीमा धम्क्याएको एक नेताले बताए ।

उता, प्रधानमन्त्री देउवाले ‘प्रचण्ड’लाई आफ्ना मन्त्रीहरू फिर्ता बोलाउन पटक–पटक दवाव दिइसकेका छन् । स्रोतका अनुसार मंगलबार बेलुकासम्म ‘प्रचण्ड’ले आफ्ना मन्त्रीहरू फिर्ता नबोलाए देउवाले माओवादी केन्द्रका मन्त्रीहरूलाई विनाविभागीय बनाउने तयारी गरेका छन् ।

उता, गृहमन्त्री जनार्दन शर्माले गृहमन्त्रालयमा मंगलबार दिउँसो आकस्मिक निर्णय गरेर माओवादी मन्त्रीहरू फिर्ता बोलाउने पार्टीको निर्णय तत्कालका लागि स्थगित भएको जनाएका छन् । ‘सरकारले निर्वाचन सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले मन्त्री फिर्ता बोलाउने निर्णयलाई थाँती राखेको छ’, शर्माले दाबी गर्दै भने ।

Published : Tuesday, 2017 October 17, 4:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया