कमल थापा एमालेको पुच्छर : राप्रपा (प्रजातान्त्रिक)

जनकपुरधाम । पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले जनकपुरधाममा पुगेर पहिलो पटक आफ्नो शक्ति देखाएको छ ।

जनकपुरधाममा आइतबार आयोजित २ नं. प्रदेशस्तरीय पहिलो भेलालाई अध्यक्ष राणासहितका प्रभावशाली नेताहरूले सम्बोधन गरेका छन् । भेलामा उल्लेख्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको प्रवक्ता किरण गिरीले जानकारी दिए ।

भेलामा अध्यक्ष राणाका साथै उपाध्यक्ष रामचन्द्र राय, महामन्त्री सुनिलबहादुर थापासहितका नेताहरूको सहभागिता रहेको थियो । राप्रपा (प्रजातान्त्रिक)ले आफूलाई निर्वाचन अवधिभरि २ नं. प्रदेशमा केन्द्रित गर्ने जनाएको छ ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष राणाले तत्कालीन राप्रपा नेपालसँग पार्टी एकीकरण गरेका कारण राप्रपाको अस्तित्व नै संकटमा पर्न गएको टिप्पणी गरेका छन् ।

‘राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि स्थानीय चुनावमा राप्रपा शून्य अबस्थामा पुग्यो’, उनले भने, ‘पार्टीको अस्तित्वमाथि नै प्रश्न चिन्ह उठयो । बाध्य भएर राप्रपा (प्रजातान्त्रिक) गठन गर्न पुग्यौँ ।’

अध्यक्ष राणाले कसैको बहकाब र भ्रममा नपरेर राप्रपा (प्रजातान्त्रिक)मा आब रहेर संगठन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

‘बिचलित हुने अवस्था छैन’, उनले भने, ‘निर्वाचन आयोगले नयाँ दलको मान्यता दिइसकेको छ । संसदमा हाम्रा सांसदहरूले अलग बस्ने स्थान पाइसक्नु भएको छ । सकैको भ्रममा नपरेर संगठनमा लाग्नुस् ।’

‘बिगतमा राप्रपा चन्द र थापा मिल्दा राप्रपा मूलककै तेस्रो शक्ति बन्न पुग्यो’, अध्यक्ष राणाले भने, ‘राप्रपा र जनशक्ति मिल्दा ३ वटा प्रत्यक्ष निर्बचात सांसद जित्न सफल भयौँ । कमल थापाको राप्रपा नेपालसँग मिल्दा स्थानीय निर्वाचनमा पत्तासफा हुन पुग्यौँ ।’ २ नं. प्रदेशको निर्वाचनमा उल्लेख्य सिट संख्या जित्ने राणाको दाबी थियो ।

महामन्त्री सुनिलबहादुर थापाले कमल थापाले मधेस र मधेसी जनताको हकअधिकारसँग खेलवाड गरेको आरोप लगाए । ‘कमल थापाजीले मधेसी जनतालाई सधै भारतीय देख्नुभयो’, उनले भने, ‘एमालेको पछाडि लागेर कमल थापाहरूले मधेसी जनताको हकअधिकारलाई सधै बेवास्ता गर्नुभयो ।’

उनले मधेसी जनताको अधिकारका लागि राप्रपा (प्रजातान्त्रिक)ले कहिल्यै साथ नछाड्ने बताए ।
कमल थापाले पार्टीलाई सामाजिक सञ्जालबाट मात्रै चलाएको भन्दै पार्टी संगठन जनताको घरदैलोबाट हुने बताए ।

महामन्त्री थापाले भने, ‘२ नं. प्रदेशमा हामीलाई जनताको साथ छ । पार्टी पनि दर्ता भइसकेको छ । प्राविधिक कारणले चुनाव चिन्ह ‘हलो’ पाएका छैनौँ । छिट्टै हलो चुनाव चिन्ह पाउने छौँ । अहिले चुनाव चिन्ह ‘पाङ्गा’ लिएर आएका छौँ ।’

Published : Sunday, 2017 September 3, 8:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया