लमजुङलाई अलैँची जोन कार्यक्षेत्र प्रस्ताव

लमजुङ । स्थानीय कृषकले लमजुङ जिल्लालाई अलैँची जोन कार्यक्षेत्र बनाउन प्रस्ताव गरेका छन् । आइतबार भएको अलैँची कृषकको भेलाले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन क्षेत्रको प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि अलैँची जोन कार्यक्षेत्र प्रस्ताव गरिएको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो ।

उहाँका अनुसार प्रस्तावित कार्यक्षेत्रमा दूधपोखरी, दोर्दी, मस्र्याङ्दी, क्व्होला सोथार गाउँपालिका र बेँसीशहर नगरपालिकाको केही क्षेत्र रहेको छ ।

कार्यक्षेत्रमा बेँसीशहर नगरपालिकाअन्तर्गत वडा नं ५ नाल्मा र वडा नं १० बाँझाखेत रहेको छ भने मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत १ देखि ८ सम्मको भूभागलाई समेटिएको छ ।

यसैगरी दूधपोखरी गाउँपालिकाको गौडा, विचौर, दूधपोखरी र इलमपोखरीलाई समेटिएको छ भने दोर्दी गाउँपालिकाको वडा नं ४ देखि ९ सम्मका वडालाई समेटिएको छ । त्यस्तै क्व्होलासोथार गाउँपालिकाअन्तर्गत सिङ्दी, पसगाउँ, भुजुङ, उत्तरकन्या, भोजे, गिलुङका केही वडा परेका छन् ।

अलैँची जोन कार्यक्षेत्र घोषणाका लागि न्यूनतम ५०० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधानअनुसार ६२५ हेक्टर क्षेत्रफल प्रस्ताव गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

यसअघि जिल्लामा एउटा ब्लग र २० वटा पकेट क्षेत्र निर्धारण गरिएको थियो । ब्लगका लागि न्यूनतम ५०० रोपनी र पकेटक्षेत्रका लागि १०० रोपनी क्षेत्रफल निर्धारण गरिएको छ ।

प्रस्तावित कार्यक्षेत्रलाई जिल्ला कृषि विकास कार्यालयमार्फत कृषि मन्त्रालय पठाइएको छ । मन्त्रालयको स्वीकृतिपछि सो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन हुनेछ ।

अलैँची प्रवद्र्धन केन्द्रित सो परियोजना १० वर्षसम्म सञ्चालन हुने अध्यक्ष तामाङले बताउनुभयो । कार्यक्रम कार्यान्वयन भएसँगै थप १५० क्षेत्रफल जमिनमा कार्यक्षेत्र विस्तार गरिने अध्यक्ष तामाङले बताउनुभयो ।

लमजुङका किसानले अलैँचीखेतीबाट मनग्य आम्दानी लिइरहेका छन् । लमजुङमा हाल गोलसायी र रामसायी जातका अलैँची उत्पादन हुँदै आएको छ ।

Published : Monday, 2017 August 28, 12:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया