भारत भ्रमणबारे दलहरूबीच विवाद

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको भारत भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलका नेताको मिश्रित प्रतिक्रिया रहेको छ ।

सत्तारुढ दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भएको बताउनुभयो भने प्रतिपक्षी दलका नेताहरुले भारतमा गएर नेपालको आन्तरिक विषयमा बोलेको भन्दै आपत्ति जनाउनुभयो ।

रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्रीको भ्रमण दलका सदस्य एनपी साउदले प्रधानमन्त्री देउवाको भारत भ्रमण ऐतिहासिकरुपमा सफल भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले भारतले नेपालको प्रधानमन्त्रीको भारत भ्रमणलाई महत्व दिएको तथा उहाँलाई गरिएको आतिथ्य र सत्कारबाट पनि उक्त भ्रमण कस्तो रह्यो भन्ने स्पष्ट भएको बताउनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणको बेला भारतसँग विभिन्न आठ महत्वपूर्ण विषयमा सम्झौता भएको र यसले देशको आर्थिक हितलाई राम्रो प्रभाव पर्ने बताउनुभयो । नेता साउदले प्रधानमन्त्रीले भारतसहित कुनै पनि मुलुकमा गएर देशको राष्ट्रिय मुद्दालाई स्पष्ट रुपमा कुरा राख्न पाउने र यसलाई अन्यथा लिन नहुने चर्चा गर्नुभयो ।

नेकपा (एमाले)का नेता आनन्दप्रसाद पोखरेलले प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलालाई भारतमा लगेर सार्वजनिक गर्नुभएको आरोप लगाउनुभयो ।

उहाँले प्रधानमन्त्रीले कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको र गौतमबुद्ध तथा बुद्ध भूमिको बारेमा पनि विवादास्पद अभिव्यक्ति दिएको उल्लेख गर्नुभयो । अर्को एक प्रसंगमा एमालेले प्रदेश नं २ मा कुनै पार्टीसँग तालमेल नगर्ने र चुनावमा पहिलो पार्टी हुने दाबी गर्नुभयो ।

नेकपा(माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले नेपालका केही राजनीतिक दलमा छिमेकी मुलुक भारतको विरोध गरेर राष्ट्रवादी भइन्छ भन्ने प्रवृत्ति बढेको बताउनुभयो । उहाँले भारत र चीनसँग नयाँ शिरामा सम्बन्धको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अर्को प्रसंगमा उहाँले प्रदेश नं २ मा असोज २ को स्थानीय निर्वाचनमा आफ्नो पार्टी संघीय समाजवादी फोरम र राजपासँग तालमेल गर्ने पक्षमा रहेको जानकारी दिनुभयो ।

Published : Monday, 2017 August 28, 12:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया