रोनाल्डो सात सन्तानका बाबु बन्ने

लण्डन । पोर्चुगी तथा रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चौथो सन्तानका बाबु बनेको चर्चा सेलाएको छैन । त्यसो त धेरैले रोनाल्डो चार सन्तानका बाबुमा सीमित हुने अनुमान पनि लगाए ।

तर, वास्तवमा यस्तो अड्कल सत्य रहेनछ । चौथो सन्तान जन्मिएको एक साता बित्न नपाउँदै रोनाल्डोले सनसनी खुलासा गरेका छन् । उनले आफूलाई सात सन्तानको बाबु बन्ने रहर पलाएको उनको अभिव्यक्ति सार्वजनिक भएको छ ।

‘मलाई सात सन्तानको बाबु बन्ने इच्छा लागेको छ,’ मिडियाकर्मीसँग ठट्टा गर्दै उनले भने । गत साता प्रेमिका जर्जिना रोड्रिग्वेले छोरी अलाना मार्टिनलाई जन्म दिएपछि रोनाल्डो चार सन्तानका बाबु बनेका हुन् ।

चार सन्तान जन्माइसकेका र सात सन्तान पुर्‍याउने रहर गरिरहेका रोनाल्डो विवाहित पुरुष पनि होइनन् । ३१ वर्षीय अविवाहित उनले विपक्षी पोस्टमा गोल संख्या बढाएजस्तै सन्तान पनि वृद्धि गर्ने योजनामा लागेको भन्दै बेलायती मिडियाले व्यंग्यात्मक समाचार बनाएका छन् ।

आखिर रोनाल्डोलाई सातै सन्तानको मोह किन लाग्यो होला ? यो जिज्ञासाको सही जवाफ झन् रोचक छ । उनको यो रहरमा ‘लक्की सेभेन’ले काम गरेको छ । रोनाल्डोको लक्की अर्थात् प्रिय नम्बर ७ हो ।

उनले ‘सी–७’ कम्पनी पनि चलाइरहेका छन् । यो कम्पनीले विशेषतः पुरुषहरूको पहिरनका कपडा उत्पादन गर्छ । सी सेभनको अन्डरवेर निकै प्रख्यात छ । यही कारण पनि उनले सात सन्तान बनाउने रहरलाई लक्की सेभेनको रूपमा प्रयोग गर्न खोजेको हुन सक्छ ।

यति मात्रै होइन, उनले सात सन्तानको तुलना बालोन डिअरसँग दाँजेका छन् । रोनाल्डोले फिफा वर्ष खेलाडी (बालोन डिअर) उपाधि जितेका छन् । उनले बालोन डिअर पनि सातै संख्यामा जित्ने दाबी गरेका छन् ।

‘जसरी मलाई सात सन्तानका बुबा बन्न इच्छा छ, त्यसैगरी सातैपटक बालोन डिअर जित्ने रहर छ,’ अर्जेन्टिनी फुटबलर लियोनल मेसीकै बराबर बालोन डिअर उपाधि लिइसकेका उनले भने, ‘त्यसपछि म फुटबल पनि खेल्दिनँ ।’

रोनाल्डोले परिवारको संख्या बढ्दै गएपछि जिम्मेवारी पनि थप भएको बताए । ‘यतिवेला मेरो जिम्मेवारी बढेको छ,’ परिवारप्रति गम्भीर हुँदै उनले भने, ‘मैले अब परिवारलाई पनि समय दिनुपर्छ ।’

फुटबल मैदानमा सक्रिय रहँदासम्म सबैजसो उपाधि जित्ने धोको रहेको उनको अर्को लक्ष्य हो । उनी भन्छन्, ‘सक्रिय फुटबलर करिअर रहँदासम्म सबै सफलता हात पार्न सक्छु भन्ने विश्वास छ ।

३१ वर्षीय अविवाहित रोनाल्डोले विपक्षी पोस्टमा गोल संख्या बढाएजस्तै सन्तान पनि वृद्धि गर्ने योजनामा लागेको भन्दै बेलायती मिडियाले व्यंग्यात्मक समाचार बनाएका छन् । – एजेन्सी

Published : Wednesday, 2017 November 22, 7:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया