यी हुन् २६ फिट लामो अजिंगर मार्ने व्यक्ति

सुमात्रा । २६ फिट लामो अजिंगरलाई देखेर जो कोही पनि डराउँछन् । इन्डोनेसियाको सुमात्रास्थित बतांग गनसाल जिल्लामा सुरक्षागार्डको रुपमा काम गर्ने रोबर्ट नबाबन डराउने व्यक्तिको सूचीमा परेनन् ।

रोबर्टले उक्त विशाल अजिंगरलाई एक्लै चुनौती दिनुका साथै केही गाउँलेको सहयोगमा त्यसलाई मार्न सफल भए ।

अजिंगरसँगको उक्त लडाईंमा नबाबनलाई गम्भीर चोट लाग्यो । उनको ज्यान त बच्यो तर बायाँ हात घाइते भयो । त्यसपछि पनि उनले अजिंगरसँगको लडाईं जारी राखे ।

नबाबनको अहिले उपचार चलिरहेको छ । गाउँलेले मृत अजिंगरलाई देखुन् भनेर उनले केही दिनसम्म त्यसलाई रुखमा झुण्ड्याएर राखे ।

उक्त स्थानमा अजिंगर निस्किएको यो पहिलो घटना भने होइन ।

जिल्लाका स्थानीय सरकारी अधिकारी एलिनारयोन भन्छन्, ‘यसै वर्ष करिब १० पटक अजिंगर देखिइसकेका छन् । गर्मीमा उनीहरु पानीको खोजीमा बाहिर निस्कन्छन् र वर्षामा नुहाृउनका लागि । पाम ओइम प्लान्टेशन भएका कारण यो इलाकामा अत्यधिक मुसा छन् त्यसकारण शिकारको खोजीमा पनि अजिंगर बाहिर निस्कने एउटा कारण हो ।’

रोबर्ट नबाबनले यो अजिंगर प्लान्टेशनको एक सडकमा पाएका हुन् । अजिंगरका कारण सडक जाम भएको थियो । मानिसहरु बाटो काट्न सकिरहेका थिएनन् । तर डरका कारण कसैले पनि केही गर्न सकिरहेका थिएनन् ।

३७ वर्षीय नबाबनले अजिंगरलाई बाटोबाट हटाउने निर्णय गरे । उनी एक्लै अजिंगरसँग भिडे । अजिंगरले पनि जवाफी हमला गर्यो र उनको हातमा दाँत गाड्यो ।

इन्डोनेसियाको समाचार एजेन्सी डेतिकसँग कुरा गर्दै नबाबनले भने, ‘म अजिंगरलाई समात्ने कोसिस गरिरहेको थिएँ । त्यसले मेरो हातमा टोक्यो । तर मैले त्यसलाई छोडिनँ ।’

नबाबनले अजिंगरलाई किन समात्न खोजे भन्ने विषयमा केही बताएनन् तर केही रिपोर्टमा दाबी गरिएअनुसार उनी डराएका गाउँलेको मद्दत गर्न चाहन्थे ।

एलिनारयोनका अनुसार नबाबनलाई पेकनबारु शहरको अस्पतालमा लगियो जहाँ उनको उपचार भइरहेको छ । बीबीसीसँग कुरा गर्दै एलिनारयोनले नबाबनको बायाँ हात पूर्ण रुपमा घाइते भएको र डाक्टरले ‘सायद उनको हात काट्न पनि सक्ने’ बताएका छन् ।

साथै एलिनारयोनले मानिसहरुले एक्लै अजिंगरसँग भिड्न नहुने कुरा औंल्याए । उनले भने, ‘कसैले पनि यस्तो गर्नु हुँदैन । त्यो एक सर्प हो, यदि तपाईंले यसलाई मार्ने कोसिस गर्नुहुन्छ भने त्यो रिसाउनेछ र जवाफी हमला गर्ने पक्का छ ।’

गाउँलेले उक्त अजिंगरको मासु खाएको भन्ने कुराले आफूलाई आश्चर्यमा नपारेको उनले बताए । उनी भन्छन्, ‘मैले साथीमार्फत सुनेको छु कि अजिंगरको मासु निकै स्वादिष्ट हुन्छ । यति लामो सर्प, अर्थात् धेरै मासु ! केही मानिसहरु अजिंगरको रगतमा थुप्रै रोग निको पार्ने क्षमता हुने विश्वास राख्छन् । ’

यद्यपी, गाउँलेले सधैं अजिंगरमाथि विजय प्राप्त गर्छन् भन्ने छैन । यसै वर्ष मार्च महिनामा एक गाउँलेको शव अजिंगरको पेटमा पाइएको थियो । – एजेन्सी

Published : Friday, 2017 October 6, 9:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया