नेपाल पनि मानसिक रोगको समस्याबाट अलग छैन: उपेन्द्र यादव
काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मानसिक स्वास्थ्य समस्या अल्पविकसित र विकासोन्मुख राष्ट्रहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या भएको बताएका छन् ।
बेलायत (संयुक्त अधिराज्य) सरकार, विश्व स्वास्थ्य संगठन तथा आर्थिक सहयोग र विकास सम्बन्धी संगठन (ओईसीडी)को संयुक्त आयोजनामा लण्डनमा नेपाली समयअनुसार बुधबार राति सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले निम्न तथा मध्यम आय भएका मुलुकहरूका हरेक पाँच जनामध्ये एकजनामा मानसिक रोगको समस्या रहेको बताए ।
उनले दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसंख्याको वीस प्रतिशत जनता मानसिक रोगबाट ग्रसित भएको बताए ।
‘नेपाल पनि मानसिक रोगको समस्याबाट अलग छैन’, उपप्रधानमन्त्री यादवले भने, ‘अशिक्षा, वेरोजगारी, बसाइसराइ, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरिवीको कारण नेपालमा मानसिक रोगीहरूको संख्या दिनानुदिन बढीरहेको छ ।’
नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा अंगीकार गरेको उल्लेख गर्दै मन्त्री यादवले भने, ‘नेपाल सरकार न्यूनतम व्ययमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिवद्ध रहेको र मानसिक रोगको उपचारको सरलीकरणमा विशेष ध्यान दिइनेछ ।’
विश्व सम्मेलनको पहिलो दिन उपप्रधा एवम् स्वास्थ्यमन्त्री यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष टिम केण्डालसँग शिष्टाचार भेट गरेका थिए । भेटमा मानसिक रोगको निदानमा द्विपक्षीय सहयोग सम्बन्धमा वार्ता भएको थियो । १० अक्टोबरमा बेलायतका प्रधानमन्त्री थ्रिसर मेद्वारा डाउनिङस्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित स्वागत समारोहमा स्वास्थ्यमन्त्री यादव सरिक भएका थिए ।
उपप्रधानमन्त्री यादव नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी, मानसिक स्वास्थ्य विज्ञ डा.रविन्द्र ठाकुर, स्वकीय सहसचिव अमरेन्द्र यादव र उपसचवि भवनाथ खतिवडा सहभागी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत