‘नेकपा’का नेता र मन्त्रीहरू पतन हुन थालेः प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको केन्द्रीय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचनमार्फत चयन गर्नुपर्ने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरिएको कार्यक्रममा नेता पौडेलले कांग्रेसभित्र अहिले आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने मुख्य चुनौती रहेको बताए ।

उनले भने, ‘आन्तरिक लोकतन्त्र सुदृढ गर्नु अहिलेको चुनौती हो । त्यसैले हामीले अब सबै पदाधिकारी, केन्द्रीय समितिलगायतमा प्रत्यक्ष निर्वाचित प्रणाली स्थापित गर्नुपर्छ ।’

पौडेलले पार्टीभित्र यतिवेला अनुशासन उल्लंघन भैरहेकोले अनुशासन कायम गर्नको लागि पनि शक्तिशाली अनुशासन आयोग गठन गर्नुपर्ने बताए ।

पार्टीभित्र बसेर गलत गर्ने र अनुशासन नमान्नेहरूलाई कारबाही गर्न सक्ने मान्छे मात्रै अनुशासन समितिको नेतृत्वमा बस्नुपर्ने उनको भनाई छ ।

कांग्रेसका युवा नेता पौडेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसका नेताहरू अहिले पतनको बाटोमा अग्रसर रहेको आरोप लगाए । ‘अहिले सत्तारुढ दल नेकपाका नेताहरू र मन्त्रीहरू पतनको बाटोमा छन्’, उनले भने, ‘सरकारले अहिलेसम्म एउटापनि राम्रो काम गर्न सकेको छैन ।’

प्रधानमन्त्री डा.खड्गप्रसाद ओली(मानार्थ विद्यावारिधी)ले चुनावमा घोषणा गरेका प्रतिबद्धता बमोजिम कुनैपनि काम गर्न नसकेको उनले बताए ।

प्रधानमन्त्री डा.ओलीले अहिलेसम्म सम्झनलायक एउटा पनि राम्रो काम गर्न नसकेको उनको आरोप छ । ‘मेलम्ची खानेपानी परियोजना पनि हाम्रै पालामा भएको हो’, कांग्रेस नेता पौडेलले भने, ‘नारायणघाट–मुग्लिन सडक खण्डको स्तरोन्नती हाम्रै पालामा भएको हो । यो सरकारले के नयाँ काम गरेको छ र ?’

वर्तमान सरकारले चीन र भारतबाट रेल ल्याउने भनेर चर्चामात्रै गरेको सुनाउँदै उनले भने, ‘भाषण गरेरमात्रै रेल आउँदैन् । रेल ल्याउने प्राविधिक पक्ष, लागतलगायत अन्य विषयमा कुनैपनि छलफल तथा अध्ययन भएको छैन् ।’

Published : Sunday, 2018 October 7, 11:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया