राप्ती गाउँपालिकामा पुरिएर तीन महिलाको मृत्यु

मसुरिया । दाङको देउखुरीमा माटोको ढिस्कोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दशैँका लागि घर पोत्ने कमेरो माटो लिन गएका राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटका तीन जनाको माटो खनिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका ४ मौरीघाटका शिउचरण चौधरीका तीन जना परिवार रहेको छ । शिउचरणकी ३० वर्षकी छोरी श्यामा चौधरी, २५ वर्षीया भाइबुहारी निनाकुमारी चौधरी र १२ वर्षीया नातिनी रोजिना चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

शनिबार बिहान घर नजिकै रहेको दोलइ खोलामा घर पोत्नका लागि आमाजु–बुहारी र भतिजी माटो लिन गएका थिए ।

दिउँसो अबेरसम्म तीनै जना घर नफर्केपछि चौधरी परिवारले खोजी गर्दा दोलैखोलाको माटो खन्ने स्थानमा पुरिएको अवस्थामा फेला परेको थियो ।

गाउँलेहरूले झण्डै ४ मिटर गहिरो खाल्डोबाट माटो निकाल्दै आइरहेका थिए । शनिबार त्यहीँबाट माटो निकाल्दै गर्दा माथिबाट ढिस्को खसेर उनीहरूलाई पुरेको चौधरीले बताएका छन् ।

माटो खन्न बन्द गराए पनि स्थानीयले लुकीछिपी माटो खन्दै आएका थिए । राप्ती गाउँपालिका वडा ४ का वडाध्यक्ष विष्णुबहादुर जिसीले तीनजनाको मृत्यु भएको घटनालाई दुद्ख भएको बताए ।

Published : Saturday, 2018 September 29, 7:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया