सिटौलासहितका प्रभु बैंकका कर्मचारीहरूले गरे पाताकस्नु पर्ने हर्कत, सवा कराेड ६ महिनाभित्र गायब

दमक । माघ ३ गते झापाका पत्रकार टीकाराम नेपालले अमेरिका उड्नुअघि श्रीमती मन्जुकुमारी नेपालका नाममा प्रभु बैंकको स्थानीय शाखामा जम्मा गरेकाे १ करोड १० लाख ४३ हजार रुपियाँ फिक्स डिपोजिट गाेलमाल र गायब भएकाे छ ।

६ महिनाका लागि राखेको रकमको समयावधि सकिन लागेपछि मंगलबार नेपाल पैसा झिक्न बैंक पुगेपछि रकम नपाएकाेमा सराेकारवालाहरू आक्राेशित बनेका छन् । बैंकका कर्मचारीले जब सम्बन्धित व्यक्तिको नाम र खाता नम्बर मागेर कम्प्युटरमा सर्च गरे, तब ६ महिनाअघि राखिएको रकम गायब थियो । त्यो देखेपछि टीकाराम छाँगाबाट खसेझैं भए ।

‘पैसा लिन जाँदा सबै पैसा गायब थियो’, टीकारामले बुधबार पत्रकार सम्मेलन गरेर भने, ‘किन र कसरी त्यत्रो रकम गायब भयो ? यसको जवाफदेही बैंक हुनुपर्छ ।’

बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको बैंकको दाबी छ । सिटौला बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । बैंकका कर्मचारीकै मिलेमतोमा सिटौलाले रकम गायब पारेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । टीकारामले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् ।

सिटौला बिर्तामोडस्थित एक होटलमा झोला छाडेर सम्पर्कविहीन भएको पाइएको छ । प्रहरीले मुचुल्का उठाएर सिटौलाको झोला खानतलासी गरेको थियो । जसमा विभिन्न व्यक्तिको नामको चेकमा कीर्ते हस्ताक्षर गरेर रकम झिक्न खोजिएका दर्जनौं चेक, एटीएम कार्ड, बैंक भौचर फेला परेको छ ।

बैंकका म्यानेजर गणेशबहादुर बरालले बैंकबाटै सवा करोड गायब भएको घटना मुख्यालयमा जानकारी गराइएको र बिहीबार केन्द्रबाट छानबिन टोली आउने जनाए । बरालले भने, ‘रहस्यमय रूपमा रकम गायब भएको छ, त्यसबारे केन्द्रीय छानबिन टोलीले सत्यतथ्य विवरण बाहिर ल्याउनेछ ।

Published : Thursday, 2024 August 1, 2:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया