हवाइ दुर्घटनाको जिम्मेवारी लिनुपर्ने बेला प्रदीपले सांसदहरूलाई गधाको कथा सुनाए

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले आफ्नो आलोचना गर्ने सांसदहरूलाई ‘गधा र सिंह’ शव्दावली प्रयोग गरेर आक्रोश पोखेका छन् ।

मंगलबार महानिर्देशक अधिकारीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आक्रोश पोख्दै ‘गधा र सिंह’को कुरा लेखेका छन् । अधिकारीले लेखेका छन्, ‘गधाको चुनौती सिंहले वास्ता गर्नुको अर्थ छैन्, जिते भन्दा नी लाज…।’

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई शुभलाम गराएर महानिर्देशक बनेका अधिकारीले प्राधिकरणको जिम्मेवारी सम्हालेपछि नेपाली आकाशमा ठूला ठूला हवाइ दुर्घटना भइसकेका छन् । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अलपत्र परेका छन् । ती विमानस्थलमा ठूलो घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नलिनचोक हेलिपोर्टमा पनि अनियमितता भएको भन्दै आवाजहरू उठेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएपछि महानिर्देशक अधिकारीको क्षमतामाथि प्रश्न उठिरहेका बेला आलोचना गर्ने सांसदहरूलाई गधा जस्तो विम्व अर्थात् शब्दावली प्रयोग गरेर आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेस सांसद उदयशम्शेर जबराले नागरिक उड्डयन प्राधिकरणमा सेवा प्रदायक र नियामकलाई एउटै हाकिम मातहत राख्न नहुने सैद्धान्तिक माग गरेका छन् ।

‘दुर्घटना नियन्त्रण गर्ने हो भने सेवा प्रदायक र नियामकलाई छुट्याउनुपर्छ’, जबराले भनेका छन् ।

‘विमान दुर्घटनापछि विभिन्न आयोग बन्छन्, रिपोर्टहरू आउँछन्’, सांसद जबराले भने, ‘ती रिपोर्टमा पाइलट, जहाजलाई दोषी भनिन्छ, मेन्टेनेन्स कि टेक्निकल समस्या भनिन्छ । प्राधिकरणले कहिले दोष लिनु पर्दैन ?’

उनले भने, ‘अहिलेका प्राधिकरणका महानिर्देशक फेब्रुअरी २०२२ मा नियुक्त हुनुभयो । यस बीचमा ७ वटा दुर्घटना भएको छ र ११८ भन्दा बढी यात्रुको मृत्यु भएको छ ।’

‘मुखले जिम्मेवारी लिनुभयो तर अरू देशमा यस्तो घटना भयो भने राजीनामा दिने चलन छ’, जबराले भने, ‘अहिलेको डीजीले राजीनामा दिनु पर्दैन ? राजीनामा नदिए सरकारले अनुसन्धान चलिरहेको बेलासम्म डीजीलाई निलम्बन गर्नुपर्दैन ?’

कांग्रेस सांसद राजेन्द्र बजगाईंले हवाई क्षेत्र कमजोर हुँदा पर्यटन क्षेत्र कोमामा गइसकेको बताए । बजगाईंले सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि संसदमा विषय उठान भएको तर, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले गलत बयानबाजी गरेको बताएका छन् ।

‘नागरिक उड्डयनका डीजीले गधासँग चुनौती नगर्ने भनेर स्टाटस लेख्नुभएको छ’, बजगाईंले भने, ‘उहाँ नेपाल सरकारको एक कर्मचारी हुनुहुन्छ । सरकारका कर्मचारीले हामी सार्वभौम सांसदले उठाएका कुरालाई गधासँग तुलना गर्नुभएको छ ।’

प्राधिकरणका महानिर्देशक अधिकारी निकै अराजक तरिकाले बेलाबेला प्रस्तुत हुने गरेका छन् । अधिकारी कार्यालयभित्र मुख सम्हाल्न नसकेर जथाभावी बोल्ने गरेको आरोप लाग्दै आएको छ । एक्समा लेखेको कुराले पनि महानिर्देशक अधिकारी कति तल्लो तहमा उत्रिएर हर्कत गर्न सक्छन् भन्ने प्रमाण आफैले दिएका छन् ।

Published : Wednesday, 2024 July 31, 2:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया