परराष्ट्रमन्त्री डा.राणाद्वारा बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीप्रति चासो व्यक्त, सहयोगका लागि पहल शुरु

काठमाडौं । पराष्ट्रमन्त्री डा.आरजु राणाले बङ्गलादेशमा भइरहेको प्रदर्शनबाट नेपाली विद्यार्थीलाई के कति प्रभाव परेको छ भनेर चासो राखेपछि ढकास्थित नेपाली राजदूतावासले उद्धार र सहयोगको पहल थालेको छ ।

नेपाल सरकारले बाङ्गलादेशका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई हवाई तथा स्थलमार्गबाट स्वदेश फर्काउन थालेको बीबीसीले जनाएको छ ।

बंगलादेशमा भइरहेको प्रदर्शनका क्रममा आफूलाई असुरक्षित महसुस गरी स्वदेश फर्कन चाहने नेपाली विद्यार्थीलाई नेपाल फर्किनका लागि सहजीकरण गरिरहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । परराष्ट्रमन्त्री डा.राणाले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षालाई लिएर चिन्ता जनाएपछि सहयोग गर्न थालिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले स्थलमार्गबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले त्यसका लागि सहजीकरण गरिदिन दिल्लीलाई आग्रह गरिएको बताएका छन् ।

राईले भने, ‘ढाकास्थित हाम्रो दूतावासले स्वदेश फर्कन चाहने विद्यार्थीलाई सहजीकरण गरिरहेको छ ।’

‘उसले आवश्यक समन्वय गरिरहेको छ । हामी निरन्तर दूतावाससँग सम्पर्कमा छौँ’, प्रवक्ता राईले भने ।

‘बाङ्गलादेशबाट भारतको बाटो हुँदै आउनुपर्ने भएकाले स्थलमार्गबाट आउने विद्यार्थीलाई सहजीकरण गरिदिन हामीले दिल्लीस्थित हाम्रो राजदूतावासमार्फत् भारतलाई पनि आग्रह गरिसकेका छौँ’, उनले भने ।

‘सरकारले गर्नुपर्ने सबै काम गरिरहेको छ र हाम्रो ढाका तथा दिल्लीस्थित दूतावासहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ’, परराष्ट्र मन्त्रालयका प्रवक्ता राईले भने ।

बङ्गलादेशमा अध्ययनरत विद्यार्थीका आफन्तले नेपाली विद्यार्थी आफ्नै पहलमा समेत हवाईमार्गबाट स्वदेश फर्किरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालय र ढाकास्थित नेपाली राजदूतावासले स्वदेश नफर्की बाङ्गलादेशमा बस्न चाहने विद्यार्थीको पनि त्यहाँको सरकार र कलेज तथा विश्वविद्यालय प्रशासनसँग समन्वय गरी सुरक्षाको प्रत्याभूति गरिएको जनाइएको छ ।

नेपाली कूटनीतिक अधिकारी तथा अभिभावकहरूले दिएको जानकारीअनुसार ढाकाबाट सानो संख्याका नेपाली विद्यार्थी हवाईमार्ग हुँदै काठमाडौं आएको बीबीसीले जनाएको छ । त्योभन्दा ठूलो संख्यामा विद्यार्थी स्थलमार्ग हुँदै नेपाल फर्कँदै छन् ।

‘ढाकाभन्दा बाहिरका विद्यार्थीलाई हामीले स्थलमार्गबाट सुरक्षित बाटो हुँदै भारतीय सीमातर्फ जान सहजीकरण गरेका छौँ’, ढाकास्थित नेपाली दूतावासकी द्वितीय सचिव योजना बम्जनले बीबीसीसँग टेलिफोनमा भनेकी छिन् ।

बम्जनले दिएको जानकारीअनुसार ढाकामा रहेका विद्यार्थी भने हवाईमार्गबाट नेपाल फर्किरहेका छन् ।

बिहीवार केही नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । शुक्रवार मुख्यतः ढाकालाई छलेर स्थलमार्गबाट भारतको पश्चिम बङ्गाल तथा पूर्वोत्तरको राज्य त्रिपुरालगायत क्षेत्र हुँदै विद्यार्थीलाई फर्काइँदै छ ।

‘हामीले त्यसका लागि सवारीसाधन र काजगपत्र मिलाइदिने काम गरिरहेका छौँ’, बम्जनले भनिन् ।

‘यहीँ बस्नेका लागि पनि स्थानीय प्रशासन र कलेजहरूसँग समन्वयमा सुरक्षा व्यवस्था गरिएको छ’, उनले भनिन्, ‘जान चाहनेका लागि पनि हामीले व्यवस्थापन गरिरहेका छौँ ।’

बम्जनले भनिन्, ‘इन्टरनेट बन्द भएकाले हामीले सबै विवरण अद्यावधिक गर्न पाएका छैनौँ । फोनका माध्यमबाट विद्यार्थीसँग सम्पर्क भइरहेको छ र हामीले सहजीकरण गरिरहेका छौँ ।’

बाङ्गलादेशमा ३ हजार जति नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

ढाकास्थित एउटा मेडिकल कलेजबाट बिहीवार समृद्धि नेपालसहित १५ छात्रा काठमाडौं आइपुगेका छन् ।

बीबीसीसँग कुरा गर्दै समृद्धिले प्रदर्शन लम्बिने अवस्था देखिएकाले आफूहरू स्वदेश फर्केको बताइन् ।

समृद्धिले बुधवार बाङ्गलादेशमा सार्वजनिक बिदा भएको तर, प्रदर्शन विस्तार हुँदै गएको र साँझसम्ममा हिंसात्मक बनेको खबर आएपछि भने आफूहरूलाई चिन्ता लागेको बताइन् ।

समृद्धिले भनिन्, ‘प्रदर्शन अझै कम्तीमा दुई साता लम्बिन्छ भन्ने भएपछि हामीले बिहीवारको टिकट काट्यौँ । दूतावासलाई सम्पर्क ग¥यौँ । बिहीवार बिहानै ४ बजे हामीलाई दूतावासले गाडी पठाएर एअरपोर्ट पु¥याइदियो, अनि सवा १० बजेको फ्लाइटमा हामी काठमाडौं आयौँ ।’

विमानस्थलसम्म जाँदा बिहानै भएकाले खासै प्रदर्शन र अवरोधको सामना गर्नु नपरेको समृद्धिले बताएकी छिन् ।

बङ्गलादेशमा प्रायः सबै विदेशी विद्यार्थी सकुशल रहेको र उनीहरू खासै असुरक्षित अवस्थामा नरहेको अवस्था छ । बीबीसी

Published : Friday, 2024 July 19, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया