सरकारद्वारा ५ समिति गठन, गृहमन्त्री लेखकलाई ठूलो समितिको जिम्मेवारी

काठमाडौं । सरकारले विभिन्न ५ वटा समिति गठन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले समिति गठन गर्नुका साथै ती समितिका संयोजकहरू तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

मन्त्रिपरिषदका राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको मन्त्री गुरुङले बताएका छन् ।

राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, आर्थिक पूर्वाधार समितिको संयोजकमा अर्थमन्त्री विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ ।

विधेयक समितिको संयोजक गृहमन्त्री रमेश लेखकलाई बनाइएको छ । संविधान र कानून लगायतका विषयसँग जोडिएको समितिको संयोजक गृहमनत्री लेखकले पाएका हुन् । कानूनका जानकार लेखकलाई प्रधानमन्त्री केपी ओलीले विश्वास गरेर जिम्मेवारी दिएका छन् ।

प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका छन् । सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी रहेका छन् ।

सरकारले नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

Published : Thursday, 2024 July 18, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया