भारतले खाँदबारीको क्याम्पसको भवन बनाइदियो, मन्त्री र राजदूतद्वारा उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालयकिरण पब्लिक क्याम्पसको भवनको नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

परियोजना ‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार नेरु ३.७४ करोडको लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा निर्माण गरिएको भारतीय राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

नवनिर्मित तीन तल्ले क्याम्पस भवनमा कक्षाकोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठकहल आदि रहेका छन् । जिल्ला समन्वय समिति संखुवासभाले यस परियोजनाको कार्यान्वयन गरेको छ ।

परराष्ट्रमन्त्री साउदले ेभारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्‍याएको र भारत जस्तो छिमेकी पाउनु नेपालको लागि गर्वको विषय भएको बताएका छन् ।

उनले विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरूको करियरमा सहयोग पुर्‍याउने भएकाले विशेष महत्व रहेको बताएका छन् ।

परराष्ट्रमन्त्री साउदले नेपालको विकासमा भारतको निरन्तर सहयोगको अपेक्षा रहेको बताएका छन् ।

राजदूत श्रीवास्तवले परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताएका छन् ।

सहकार्यले हालैका वर्षहरूमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रहरूमा ठूलो फड्को मारेको विज्ञप्तिमा उल्लेख छ ।

श्रीवास्तवले दुवै देशका जनताको हितकालागि नेपाल सरकारको प्राथमिकताअनुरुप यो विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् ।

हिमालय मिडिल स्कुलको रुपमा सन् १९४९ माहिमालयकिरण पब्लिक क्याम्पसको स्थापना भएको हो । सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न विद्यालयको स्तरोन्नति गरी हिमालयकिरण पब्लिक क्याम्पस नाम राखिएको थियो ।

क्याम्पसमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमा ६० प्रतिशत छात्रा रहेका छन् । हाल यस क्याम्पसमा स्नातकतहमा व्यवस्थापन र शिक्षा र स्नातकोत्तर तहमा शिक्षा विषय अध्यापन गराइन्छ ।

स्थापनाकालदेखि नै यस क्याम्पसले गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

सन् २००३ यता भारतले नेपालमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये कोशी प्रदेशमा विभिन्न क्षेत्रका गरी ८४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसर पारेर हालसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहार स्वरुप उपलब्ध गराइसकको छ ।

भारत सरकारले हालसम्म संखुवासभा जिल्लालाई १३ वटा एम्बुलेन्स र गत जुलाईमा यस क्याम्पसलाई प्राप्त स्कुल बस समेत गरी ३ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

Published : Thursday, 2023 September 7, 9:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया