देउवाजीले केही भन्नु भएको छैन, सभापतिमा मलाई समर्थन हुन सक्छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले १५औँ महाधिवेशनमा पार्टी सभापति उम्मेदवार बन्ने संकेत गरेका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै डा.कोइरालाले शेरबहादुर देउवाको तर्फबाट सभापतिको उम्मेदवार आफू बन्नसक्ने बताए ।

डा.कोइरालाले देउवाको समर्थनमा सभापतिको उम्मेदवार बन्ने विषयमा टुंगो भने नलागिसके बताएका छन् ।

पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा डा.शशांक कोइराला उम्मेदवार बन्नसक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले सभापति देउवाको तर्फबाट आफूलाई समर्थन हुन सक्ने बताए ।

कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईं हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?’

पार्टीका साथीहरूसँग सल्लाह गरेरमात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने डा.कोइरालाको भनाइ थियो ।

यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनको भनाइ छ । ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुनसक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उनीहरूको विचार सुनौं, अनि मात्रै निर्णय गर्छु ।’

डा.शशांक कोइराला कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा हुन् । डा.कोइरालालाई सभापतिको उम्मेदवार बनाउन देउवाको पनि समर्थन हुन सक्ने चर्चा चलिरहेका बेला यो विषय बाहिर आएको छ ।

Published : Wednesday, 2023 September 6, 6:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया