‘बबाली’ एसएसपीलाई विभागीय कारबाहीको सिफारिस

काठमाडौं । नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि गम्भीर प्रकृतिको विभागीय कारबाहीको सिफारिस भएको छ ।

महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बनमा परेका पाललाई घटनाको छानबिन समितिले कारबाही सिफारिस गरेको हो । घटनामा उनको संलग्नता पुष्टि गर्दै कारबाहीको सिफारिस गरेको बुझिएको छ । प्रहरी प्रधान कार्यालयले पालको यौन दुर्व्यवहारसम्बन्धी घठना छानविन गर्न समिति गठन गरेको थियो ।

प्रहरी नायब महानिरीक्षक (डीआइजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत १९ जेठमा पालले महिला कर्मचारीलाई दुर्व्यवहार गरेका हुन् ।

बिदामा जान लागेकी एक महिला हवल्दारलाई निवासमा बोलाएर एसएसपी पालले यौन दुर्व्यवहार गरेका थिए । महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि छानबिन सुरु भएको थियो ।

उजुरी परेकै दिन पाललाई जिम्मेवारीबाट हटाइएको थियो । प्रारम्भीक छानबिनपछि पाललाई गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

समितिले स्थलगत रूपमा अध्ययन गरेको थियो । सबै पक्षसँगको कुराकानी र प्राविधिक विश्लेषणका आधारमा उनले महिला हवल्दारलाई दुर्व्यवहार गरेको प्रस्ट भएको छानबिनमा खुलेको बुझिएको छ ।

बिदामा जान लागेकी कर्मचारीलाई एसएसपी पालले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेका थिए ।

कार्यालयका अन्य महिला प्रहरीलाई पति विगतमा त्यसैगरी दुर्व्यवहार गरेको छानबिनमा खुलेको छ । विगतमा पनि यस्ता घटनामा एसएसपी पालमाथि छानबिन हुँदै आएको थियो ।

Published : Wednesday, 2023 September 6, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया