काण्ड लागेका सह-सचिवहरूलाई थन्काइयो, ५८ जनाको सरुवा

काठमाडौं । सरकारले ५८ जना सह–सचिवहरूको सरुवा गरेको छ । सुन काण्ड र ललिता निवासको जग्गा काण्डमा मुछिएका दुई सह–सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।

अध्यागमन विभागमा महानिर्देशक समेत रहेका सह–सचिव झलकराम अधिकारीलाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । अधिकारीलाई सुन काण्डका मुख्य व्यक्तिको रुपमा चिनिएका दावा छिरिङसँग सिधा सम्पर्क रहेको भन्दै सीआइबीले बयान लिइरहेको छ ।

अधिकारीलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक भएकाबेला चोरीपैठारी रोक्न असफल भएको आरोपमा गत कात्तिकमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारीलाई केही दिन आफ्नो कार्यालयमा राखेर गृह मन्त्रालय पठाएका थिए । गृह पठाए लगत्तै अधिकारीलाई अध्यागमनको महानिर्देशक बनाइएको थियो ।

ललिता निवास जग्गा काण्डमा मुछिएका सुशील वैद्यलाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । दाङमा प्रमुख जिल्ला अधिकारी रहेकाबेला जग्गा काण्डमा छानबिन हुन थालेपछि वैद्यलाई गृह मन्त्रालय तानिएको थियो ।

काठमाडौं मालपोत कार्यालयमा रहकाबेला वैद्यको संलग्नता ललिता निवास जग्गामा मुछिएका थिए । सुन बरामद भएकाबेला बिदामा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा पठाइएको छ । उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रहेको तुलसीराम भट्टराईलाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।

मन्त्रालयको प्रशासन प्रमुख हेमराज तामाङलाई संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ । संघीय मन्त्रालयमा राष्ट्रिय योजना आयोगबाट सुमन दाहाललाई लगिएको छ ।

सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव नारायणप्रसाद रेग्मीलाई संघीय मामिला मन्त्रालय सरुवा गरिएको छ ।

भन्सार विभागको महानिर्देशकसमेत भइसकेको दाहाललाई महत्वपूर्ण महाशाखा जिम्मा लगाउने तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगेको स्रोतको भनाइ छ ।

सहरी विकास मन्त्रालय अन्तर्गत रहेका रवीन्द्र बोहरालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । प्रदीप परियारलाई योजना आयोग सरुवा गरिएको छ ।

संघीयका बलाराम रिजाललाई गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिवमा पठाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा रजिष्ट्रार पदमा डेढ वर्षभन्दा बढी समय बसेका महेश बराललाई योजना आयोगमा सरुवा गरिएको छ ।

लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीलाई ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ ।

लोकसेवा आयोगमा रहेका प्रदीप कोइरालालाई वन तथा वातावरण मन्त्रालय सरुवा गरिएको छ ।

वाग्मती पदेशको आर्थिक मामिला मन्त्रालयका सचिव महेश आचार्यलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । गृहका शिवराम न्यौपानेलाई लोकसेवा आयोग पठाइएको छ । योजना आयोगका प्रकाश दाहाललाई बाग्मतीको आर्थिक मामिला मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

वाग्मती प्रदेश मुख्यमन्त्रीको कार्यालयमा रहेको शिवराम गेलाललाई गृह मन्त्रालय सरुवा गरिएको छ । वाग्मती प्रदेश प्रमुखको कार्यालयमा रहेका ओमबहादुर खड्कालाई नेपालगन्ज उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

Published : Tuesday, 2023 September 5, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया