बालेनलाई जिब्रो सम्हाल्न रामहरि खतिवडाको चेतावनी

काठमाडौं । राज्य व्यवस्था समितिका सभापति एवम् नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा जिब्रोमा ब्रेक लगाउन राजनीतिज्ञलाई चेतावनी दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘हामी राजनीतिज्ञहरू निर्वाचित भइसकेपछि हाम्रो जिब्रोमा ब्रेक नलागेर जिब्रोले जे पायो त्यही बोल्न गइरहेका हुन्छौँ ।’

‘कोही आगो ओकेल्छौँ, सिंहदरबार ध्वस्त पार्छौं भन्छौँ, कोही जातीय राज्य चाहियो भन्छौँ’, उनले भने, ‘कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउने काम गर्छौं ।’

सभापति खतिवडाले भने, ‘जित्ने राजनीतिज्ञ र अलिक स्टेपमा पुगेका निर्वाचित प्रतिनिधिहरूलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोल्न अनुरोध गर्न चाहन्छु ।’

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफ्नी पत्नी चढेको काठमाडौं महानगरको सरकारी गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको आक्रोशमा सिंहदरबार जलाउने धम्की दिएका थिए ।

संसदमा बालेनका विरुद्ध कसैले पनि आवाज उठाएनन् । तर, कांग्रेसका सांसद खतिवडाले बालेनको नाम नलिएर जिब्रो सम्हाल्न सचेत गराएका छन् ।

कांग्रेसका सांसद खतिवडाले तत्कालीन एमाले नेतृत्वको सरकारको गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी भ्रष्टाचारको फाइल खोल्न माग गरेका छन् ।

उनले भने, ‘गिरिबन्धु टी स्टेटको बारेमा तुरुन्त भ्रष्टाचार गरेको बारेमा छानविन गरि कारबाही गर्न अनुरोध गर्न चाहन्छु ।’

Published : Monday, 2023 September 4, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया