एमसीसी कार्यान्वयन शुरु, नेपालमा विकासले फड्को मार्ने

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेका छन् ।

बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको ईआईएफ आदानप्रदानपछि परियोजना कार्यान्वयन शुरु भएको छ । एमसीसी ईआईएफका लागि उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका थिए ।

सम्झौता आदान प्रदानपश्चात पाँच वर्षे अवधिको सम्झौता शुरु भएको छ । सम्झौताअनुसार इन्ट्री इन्टु फोर्स अर्थात् कार्यान्वयनमा गएको ५ वर्षमा (२०८५ भदौ १३ भित्र) परियोजना सक्नुपर्ने हुन्छ ।

आयोजना कार्यान्वयनका लागि गठित एमसीए–नेपालअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक निर्माणसम्बन्धी आयोजना सञ्चालन हुनेछन् ।

तोकिएको समयमा परियोजना पूरा नभए नेपालले एमसीसीमार्फत रकम प्राप्त नगर्ने सर्त रहेको उल्लेख छ ।

विद्युत् प्रसारण लाइन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने, विद्युत् नियमन आयोग ऐन लागू गर्ने, कार्यक्रम कार्यान्वयनको सम्झौतामा हस्ताक्षर गर्ने सर्त छ ।

अन्तर्राष्ट्रिय प्रसारण लाइनका लागि नेपाल सरकार तथा भारत सरकारबीच कार्यसञ्चालन कार्ययोजना र प्रसारण लाइनसम्बन्धी सम्झौता गर्ने, प्रतिनिधिसभाबाट सम्झौता अनुमोदन तथा आयोजना निर्माणस्थलमा पहुँचका लागि जग्गा प्राप्ति र रूख कटानी सम्पन्न गर्नुपर्ने सर्त छन् ।

अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स (ईआईएफ)मा प्रवेश गरेको छ । अब नेपालको विकासमा एमसीसीले ठूलो सहयोग गर्नेछ ।

Published : Wednesday, 2023 August 30, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया