लुम्बिनीको गुरुयोजना छिटो पूरा गर्नेबारेमा मुख्यमन्त्री र उपाध्यक्षबीच परामर्श

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र पूर्वअर्थराज्यमन्त्री समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाबीच भेटवार्ता भएको छ ।

बृहत्तर लुम्बिनी क्षेत्रको विकासका विषयमा प्रदेश सरकारसँग सहकार्य गर्ने विषयमा मुख्यमन्त्री चौधरीसँग उपाध्यक्ष डा.लामाले भेटवार्ता गरेका हुन् ।

रुपन्देहीमा भएको भेटवार्तामा ४७ वर्षअघि शुरु भएको लुम्बिनी गुरुयोजनाको काम छिटो कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको मुख्यमन्त्री चौधरीले बताएका छन् ।

उनीहरूका बीच लुम्बिनीको गुरुयोजनाको बाँकी काम पूरा गर्ने सन्दर्भमा छलफल भएको उपाध्यक्ष डा.लामाले बताएका छन् ।

उपाध्यक्ष डा.लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग सहकार्यका लागि आग्रह गरेका छन् ।

लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, लगायतका क्षेत्रलाई धार्मिक पर्याटकीयस्थलको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको मुख्यमन्त्री चौधरीलाई उपाध्यक्ष डा.लामाले जानकारी गराएका छन् ।

मुख्यमन्त्री चौधरीले लुम्बिनीको धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवर्द्धन तथा व्यवस्थापनमा टेवा पुर्‍याउन प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने बताएका छन् ।

मुख्यमन्त्री चौधरीले बुद्ध जन्मस्थल लुम्बिनी नेपालकै गौरव भएकाले यसको विकासमा हातेमालो गरेर अगाडि बढ्ने बताएका छन् ।

Published : Tuesday, 2023 August 29, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया