सभापतिमा सर्वसम्मत भएपछि खतिवडा किशुनजी र ओखलढुंगाका जनताप्रति भावुक बने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडाले समितिबाट बहुमतबाट भन्दा पनि सर्वसम्मतिमा निर्णयहरू गरिने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकबाट नेपाली कांग्रेसका सांसद खतिवडा सभापतिमा सर्वसम्मत भएका छन् । ज्येष्ठ सदस्य चित्रबहादुर केसीले खतिवडा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सत्तापक्ष र प्रतिपक्ष सबै दलको साथ पाएर समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने बताए । उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

खतिवडाले भने, ‘यो समितिमा पनि अव हामी सबैको, पार्टीको भन्दा पनि सबैको बनाएर लिएर जान चाहन्छौं । म कांग्रेसबाट निर्वाचित भएपनि यो समिति पक्ष, विपक्ष नगरीकन सबैको पक्ष बनाएर हामी यसलाई अहिलेको समसामयिक विषयमा सबैसँग सल्लाह गरेर निर्णय गर्ने परम्पराको विकास गर्छौँ ।’

‘मेरो होइन, हाम्रो भन्ने परम्पराको विकास गरेर अगाडि बढ्छ’, उनले भने, ‘यो समितिमा बहुमत, अल्पमतबाट निर्णय गर्ने भन्दा पनि सबैको सल्लाहबाट नै निर्णय गर्ने पक्षमा छौं ।’

सभापति खतिवडाले भने, ‘अब यसको कार्यक्षेत्र धेरै ठुलो छ । विशेष गरेर सुरक्षा निकायसँग जोडिएको हुँदा संवेदनशील भएर काम गर्न जरुरी छ । वास्तवमा यो समिति देशका लागि आवश्यक र महत्वपूर्ण समिति रहेछ भनेर काम गर्न सक्यौ भने हाम्रो सार्थकता त्यहाँ पूरा हुनेछ ।’

‘यो समिति सरकार विरोधी पनि हुँदैन । सरकार पक्षको पनि हुँदैन । समिति समितिका रुपमा अगाडि बढ्छ’, उनले भने, ‘सुन काण्ड लगायतका सबै विषयमा छलफल हुन्छ। आजै प्रधानमन्त्री, गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छ ? यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ ।’

सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरूले सोही अनुसारको कार्य योजना बनाएर अघि बढ्ने समेत बताए ।

सभापति पदको पद तथा गोपनीयताको शपथ लिएपछि खतिवडाले कार्यभार सम्हालेका थिए । त्यसपछि खतिवडा ललितपुरको बाडेगाउँस्थित कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर किशुनजीको शालिकमा माल्यार्णपन गरेका छन् ।

सभापति शेरबहादुर देउवा, उप–प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग सिंहदरबारमा भेट गरेका सभापति खतिवडाले किशुनजीलाई राजनीतिक गुरुका रुपमा स्मरण गरेका छन् । उनले आफूलाई पटक पटक मतदान गर्ने ओखलढुंगाका जनताप्रति आभार प्रकट गरेका छन् ।

खतिवडालाई बाडेगाउँमा आश्रमकी संरक्षक अमिता कपाली र शुभेच्छुकहरूले स्वागत गरेका थिए । खतिवडा बेलाबेला आश्रम जाने गरेका छन् ।

Published : Tuesday, 2023 August 29, 12:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया