विदेश पठाइदिन्छु भनेर लाखौँ खाइने दलालहरू काठमाडौंमा पक्राउ
काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नवलपरासीको देवचुली नगरपालिका–८ घर भई कठमाडौंको टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समिर आले मगर, रामेछापको उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यानको कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्कीको पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरूङ रहेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूमध्ये मगरले २ जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक २ लाख रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितहरूबाट ५ लाख ४५ हजार रुपियाँ ठगी गरेको आरोप छ ।
सुनुवारले १ जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक १ लाख रुपियाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी २ लाख रूपियाँ ठगी गरेको, खड्काले १ जनालाई कुवेत पठाई बाइक राइडरमा मासिक ५० हजार रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी १ लाख ९४ हजार रुपियाँ ठगी गरेको र गुरूङले १ जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक १ लाख रूपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ४५ हजार रुपियाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाडौं टोखाबाट, सुनुवारलाई काठमाडौं मनोहराबाट तथा खड्कालाई काठमाडौं सामाखुशीबाट शुक्रबार र गुरूङलाई ललितपुर नख्खिपोटबाट आइतबार पक्राउ गरेको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया