कृषकको छोरी हुँ, सहकारी र पर्यावरणको समस्यामा काम गर्छु : डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले आफू कृषकको छोरी रहेको र सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती भएका संसदीय समितिको सभापतिमा उम्मेदवारी दिएको बताएकी छिन् ।

सिंहदरबारमा आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दै डा.राणाले समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरूलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउने बताइन् ।

आफू कृषकको छोरी भएकाले कृषि क्षेत्रमा हुन नसकेका विषयहरूका बारेमा काम गर्ने उनले बताएकी छिन् ।

उनले भनिन्, ‘म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो ।’

डा.राणाले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताएकी छिन् । कांग्रेस सांसद डा.राणाले सहकारीको समस्या समाधानका लागि मसिनोसँग लाग्नुपर्ने बताएकी छिन् ।

‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ’, डा.राणाले भनिन्, ‘समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरूलाई उनीहरूको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन, साथै जनताको सहजता भएको छ की छैन ?’

डा.राणाले भनिन्, ‘जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरू हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडि अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ ।’

कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी सांसद डा.राणाले दश वटा समितिमा महिलाको ३० प्रतिशत प्रतिनिधित्व भएको बताइन् । उनले कांग्रेस र माओवादी केन्द्रले एक–एक महिलालाई सभापति बनाएर ३० प्रतिशत पुर्‍याएको बताइन् ।

आफूले ३३ प्रतिशत महिलाले सभापति पाउनुपर्ने विषयमा आवाज उठाएको बताइन् । अहिले पाएको ३० प्रतिशत पनि उचित रहेको र आगामी दिनमा ३३ प्रतिशतका लागि नै दवाव सिर्जना गर्ने डा.राणाको भनाइ छ ।

Published : Sunday, 2023 August 27, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया