शिक्षामा भएको लगानीअनुसार प्रतिफल प्राप्त हुन सकेन : डा.आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छिन् ।

आइतबार धनगढीमा आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट विषयक सुदूरपश्चिम प्रदेशस्तरीय गोष्ठीमा सांसद समेत रहेकी डा.राणाले सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको बताइन् । उनले लगानीअनुसार परिणाम भने प्राप्त गर्न नसकिएको बताएकी छिन् ।

उनले अहिले पनि नेपाली युवायुवती कक्षा १२ पास गरेपछि वैदेशिक रोजगारीमा नै जान हतार गर्ने गरेको र यो अवस्था दिन प्रतिदिन बढ्दै गएकाले पढाइसँगै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सिङ्गो शिक्षा प्रणाली नै केन्द्रित हुनुपर्ने बताएकी छिन् ।

डा.राणाले भनिन्, ‘एकातिर १२ कक्षा पास गरेपछिको अवस्था यस्तो छ भने अर्कातिर बालबालिकामा कक्षा छोड्ने गरेको अवस्थामा कमी ल्याउन सकिएको छैन ।’

‘यी महत्वपूर्ण विषयमा अब गम्भीर भएर सोच्नुपर्ने र शिक्षा प्रणालीमा समयानुकूल परिवर्तन ल्याउनुपर्ने अवस्था छ’, डा.राणाले भनिन् ।

शिक्षा प्रणालीअन्तर्गत नै सरकारले अपाङ्गता भएका व्यक्तिलाई कसरी शिक्षाको मूल प्रवाहमा ल्याउन सकिन्छ र बालबालिकाका लागि आवश्यक बजेट के कसरी विनियोजन गर्न सकिन्छ भन्ने विषयमा पनि सरकारले उचित कदम चाल्नुपर्ने सांसद डा.राणाले बताएकी छिन् ।

Published : Sunday, 2023 August 20, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया