एमालेले पुलिसलाई अविश्वास गर्ने हो भने मीनबहादुर र खाणहरूलाई पनि छाडौँ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले एमालेकै पालामा ठूला ठूला सुन तस्करी भएको आरोप लगाएका छन् ।

आइताबर संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले एमालेका नेता गृहमन्त्री भएका बेला ठूलो परिमाणमा सुन तस्करी भएको बताए । उनले भने, ‘नेपालको इतिहाँसमा हेरौँ कुनै बेला एमालेको एउटा गृह मन्त्री हुनुहुन्थ्यो ।

एयरपोर्टबाट बाहिर आउँदा छ सय किलोका गाडी बाहिर आएर जोख्दा दुई सय किलो हुन्थ्यो । चार सय किलो हराउँथ्यो ।’
खतिवडाले तत्कालीन समयमा एमालेको तर्फबाट गृहमन्त्री बनेका बामदेव गौतमप्रति लक्षित गरेर सुन तस्करीमा एमालेको कनेक्सनका बारेमा खुलासा गरेका हुन् ।

‘संस्थागत रुपमा किताबमा उल्लेख छ । उहाँहरूले टुँडीखेलमा घोषणा गर्नुभएको छ । सबैभन्दा भ्रष्ट मान्छे कोही थियो र तस्करको नाइके कोही थियो भने त्यति बेला नेकपा (एमाले)को गृहमन्त्री थियो । नाम मैले लिन परिरहेन’, खतिवडाले भने ।

उनले भने, ‘इतिहाँस हेरौँन कृष्णबहादुर महराका पालामा सिगेर ल्याउँदा को थियो गृहमन्त्री ? को थियो प्रधानमन्त्री ? अहिले पनि सुन तस्करीलाई कांग्रेसको नेतृत्वमा गरेको गठबन्धनले समात्ने काम गरेको छ । उहाँहरूले समात्ने काम पनि गर्नुभएन । अहिले केही मानिसहरू समातिएका छन् । छानविन गर्न दिऔँ ।’

‘सरकारले चिनेका संयन्त्रले छानविन गरेको विश्वास छैन भने मीनबहादुर गुरुङलाई छोडिदिऔँ । पुलिसप्रति एमालेको विश्वास छैन । बालकृष्ण खाणजीहरूलाई समातेको छ’, खतिवडाले भने ।

‘एमालेलाई प्रहरीप्रति विश्वास छैन भने उहाँहरूलाई छाडौं । कानूनले विश्वास गरेका संयन्त्रलाई अविश्वास गर्ने, अरुलाई गाली गरेर समस्या समाधान हुँदैन’, उनले भने ।

‘एमालेलाई गाली गर्न चाहन्न । एमालेका सांसदहरू हामीसँग आएर संसद चल्न नदिएर फर्किनु हुन्छ’, उनले भने, ‘एमालेकै सभामुख हुनुहुन्छ । छलफल गरौँ । एक हप्ताको समय छ ।’

खतिवडाले भने, ‘हामी कुनै कुरामा प्रमुख प्रतिपक्षलाई बाइपास गर्ने पक्षमा छैनौँ । संसद प्रतिपक्षको मात्रै होइन । सबै सांसदहरूको संसद हो ।’

Published : Sunday, 2023 August 20, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया