जनताको काम गरौं, कांग्रेस भनेको कोशी हो, कहिल्यै सुक्दैन, नयाँ भनेका खहरे हुन् : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले कान भर्ने र काम गर्ने नेता कार्यकर्तालाई नेतृत्वले चिन्नुपर्ने बताएका छन् ।

मंगलबार सुनसरीको कोशी गाउँपालिकामा आयोजित नेपाल सांस्कृतिक महासंघ, कोशी प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेशस्तीय भेला तथा अन्तरक्रिया कार्यक्रममा खतिवडाले काम गर्ने कार्यकर्तालाई नेतृत्वले पश्रय दिनुपर्ने बताए ।

प्रतिनिधि सभाका सांसद समेत रहेका खतिवडाले भने, ‘कांग्रेसमा देशैभरि दुई प्रकारका कार्यकर्ता हुँदा रहेछन् । एउटा नेताकोमा गएर कान भर्ने, अर्को काम गर्ने । हामीले अहिले कसलाई प्रश्रय दियौँ ? कान भर्नेलाई दियौँ । काम गर्नेलाई दिएनौँ ।’

‘त्यसैले अब हामीले काम गर्नेलाई पश्रय दिएर कान भर्नेलाई पर राखियो भने कांग्रेस मात्र होइन सबै संगठन अगाडि बढ्छ’, उनले भने ।

उनले भने, ‘समग्र ठाउँ जित्यो भने कांग्रेसले जित्छ । साथीहरू प्रत्येक गाउँ, टोल, वडाहरूमा काम गरेर बस्नुभएको छ ।’

नेता खतिवडाले नयाँ पार्टीहरूलाई खहरेको बाढीको संज्ञा दिएका छन् । उनले भने, ‘नयाँ पार्टीहरू आए आकर्षण धेरै छ भन्ने चर्चा पनि चल्यो । नेपालको राजनीतिक इतिहाँसमा परिवर्तनमा नयाँ आउने पार्टीको योगदान म प्रश्न चिन्ह खडा गर्न चाहन्न । हामीले देखेका छौँ ।’

‘कुनै दिन ह्वात्तै माथि आएको माओवादी संगठन आज गिर्दैगिर्दै गयो’, खतिवडाले भने, ‘योभन्दा अगाडि काठमाडौं लगायतका ठाउँमा सेलरोटी बाँडेर त्यत्तिकै चुनाव लडेका रञ्जु दर्शनाहरू विस्तारै पछि पर्दै गए ।’

‘निरन्तर तपाईहरू काम गर्दै गर्नुहोस् । कहिले काहिँ ठूलो पानी पर्‍यो भने खहरे खोलाले कोशीलाई छेकिदिन्छ’, खतिवडाले भने, ‘पानी रहेपछि (पानी पर्न बन्द भएपछि) खहरे खोला सुकेर जान्छ । कोशी कहिल्यै सुक्दैन । त्यो कोशी भनेको नेपाली कांग्रेस हो ।’

नेता खतिवडाले सांस्कृतिक संघको सम्मान गर्न सकेनौँ भने कांग्रेसको सम्मान हुँदैन भन्ने कुरा नेतृत्वसम्म आवाज पुर्‍याउने जनाएका छन् ।

‘सांस्कृतिक संघलाई जन्मायौँ । सांस्कृतिक संघलाई मार्ने होइन सांस्कृतिक संघलाई सबैभन्दा राम्रो बनाउने काममा हामी लाग्नुपर्छ’, उनले भने ।

खतिवडाले भने, ‘हामीलाई अफ्ठ्यारो पर्दा घरघरमा गएर, मान्छे पठाएर तीर्थ थापालाई खोज्छौँ । तीर्थ थापाले आफ्नो सबै गुमाउनुभयो । पार्टीमा लागेर सम्पत्ति गुमाउनुभयो । श्रीमती गुमाउनुभयो । पार्टी र साथी नगुमाइकन निरन्तर संगठनमा लागेको व्यक्तिलाई हामीले सम्मान गर्न सकेनौँ भने हाम्रो सम्मान कसैले गर्दैन ।’

कार्यक्रममा जिल्ला सभापतिहरूका साथै कार्यक्रमका संयोजक चिरञ्जीवी बस्नेत, नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सभापति तीर्थ थापा, प्रदेश सांसद लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2023 August 16, 8:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया