युरोप भागेको आरोप लागेका माधव नेपालले दिए लाखौ जनता खुसी हुने अभिव्यक्ति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणको छानविनमा सहयोग गर्ने जनाएका छन् ।

युरोपबाट सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि पत्रकारहरूसँग कुरा गर्दै छानविनमा आफ्नो सहयोगी भूमिका रहने बताए । उनले आफू भागेको भनेर आएका समाचारप्रति चिन्ता जनाएका छन् ।

उनले माधव नेपाल भाग्ने खालको मान्छे नभएको बताएका छन् । नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिए पनि आफूले कुनै कमजोरी नगरेको बताएका छन् ।

उनले भने, ‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर, अलिअलि चित्त दुखेको छ ।’

नेपालले भने, ‘बालुवाटार जग्गा प्रकरणमा केही कमजोरी भएको छ भने त्यसको छानबिन होस्, मेरो सहयोगी भूमिका रहनेछ ।’

अध्यक्ष नेपालले आफूले कुनै अपराध नगरेकाले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम जोडिए पनि संलग्नता नरहेको बताएका छन् ।

‘कतिपयले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल भाग्ने खालको मान्छे होइन । गोली खाँदा त नभाग्ने, राजाले गिरफ्तार गर्न खोज्दा त नभाग्ने मान्छे म । कुनै गल्ती अपराध र बदमासी नगरेको सन्दर्भमा’, उनले भने, ‘कुनै पनि कानूनको प्रक्रिया अन्तर्गत प्रोसेसहरू अघि बढ्छन् ।’

अध्यक्ष नेपालले आफू लतारिएर स्वदेश नफर्केको पनि बताए । आफू युरोप जाने तयारीमा रहनु र सर्वोच्चको आदेश काकताली जस्तै भएको पनि उनले सुनाए । उनले देशको परिस्थितले गर्दा आफू दुई देशको भ्रमण छोट्टाएर फर्किएको भन्दै कुनै खास खास बेलामा नेताहरूको महत्त्वपूर्ण भूमिका हुने बताए ।

उनले भने, ‘मैले नितान्त असल मनसायले नेपाल सरकारको जग्गा नेपाल सरकारकै नाममा हुनुपर्छ भन्ने मनसायले गरेको हो । यदि कागजपत्र छैन भने पनि स्रेस्ता कायम गर्ने भनेर काम गरेको हुँ ।’

‘त्यो काम गर्दा सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानुनसम्मत ढङ्गले छुट्टाएर गर्ने गरिएको हो’, उनले भने, ‘बाटोको सन्दर्भमा पनि कसैलाई कुनै मुआब्जा नदिइकन ।’

‘सट्टापट्टा नगरी उनीहरूबाट प्राप्त गरीकन सात रोपनी जग्गा नेपाल सरकारको नाममा थप ल्याउने कुराहरू भए’, उनले भने, ‘कुनै नाममा मोहीको नाम नक्कली पर्‍यो के पर्‍यो भन्ने कुरा आएको छ त्यो तथ्य तथ्याङ्कले बताउला । को को संलग्न छन् भन्ने कुरा पनि होला ।’

उनले भने, ‘मेरो कुनै पनि संलग्नता रहेको छैन । मेरो पालामा यो जटिलता र झमेलावाल भनेर कसैले भनेको थिएन ।’

‘यसका केही जटिलता पनि होलान्, सर्वोच्चले के भन्यो ? अख्तियारले के भन्यो ? पहिले के भयो पछि के भयो ? सबैको राम्रो ढङ्गले छिनोफानो होस्’, उनले भने ।

‘निर्दोष कोही नपरुन्, दोषी कोही नपरुन् भन्ने आधारमा जानुपर्छ । बालुवाटार प्रकरणमा पनि भन्ने हो भने बालुवाटार निवासमा कोही जाने हो त्यसले हेर्न सक्छ र भन्न सक्छ, कि त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो ? सम्भवत: मेरो नाम अरूभन्दा अग्रपङ्क्तिमा पर्दै छ’, उनले भने ।

‘केही बदमासी त्यहाँ भएको छ भने त्यसको छानबिन होस् । त्यसमा मेरोतर्फबाट जुन सहयोग गर्नुपर्ने हो मेरो सहयोगी भूमिका रहनेछ’, उनले भने ।

Published : Monday, 2023 August 14, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया