राजेन्द्र लिङ्देनको प्रश्न, ‘सुनिल शर्मा सांसद भएकै कारण छाड्ने, अरुलाई थुन्ने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपाली कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गर्ने र अर्को दिन नै छोड्ने कुरा छलफलको विषय बनेको बताएका छन् ।

शनिवार ३४औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित कार्यक्रममा रक्तदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अघिल्लो दिन समातेर भोलिपल्टै किन छोडेको भनी प्रश्न पनि गरेका हुन् ।

उनले सत्ता पक्षका सांसद शर्माले सत्ता पक्षकै मन्त्रीहरूमाथि प्रश्न उठाएर राजीनामा माग्दा पक्राउ गरिएको आरोप लगाए ।
अध्यक्ष लिङदेनले सांसद शर्मालाई छोड्ने र अन्य चिकित्सकलाई थुनामै राख्ने कुराको छलफल हुनुपर्ने बताए ।

‘सुनिल शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो’, उनले भने, ‘अहिले नै किन कार्यान्वयन गरियो ? यति नै बैला, सुनिल शर्माले सत्ता पक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरू र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरूमाथि औंला उठाउनु भयो ।’

उनले भने, ‘फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो, त्यो बारेमा अब यो छलफलको विषय हुँदैछ, राप्रपाले अहिले सत्तालाई प्राथमिकतामा राखेको छैन ।’

अध्यक्ष लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको पनि बताएका छन् । अध्यक्ष लिङदेनले नेपाली युवाहरू राजनीति काम छैन भनेर पर बस्ने नभइ राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।

Published : Saturday, 2023 August 12, 5:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया