डा.लामाले लुम्बिनी विकास कोषको जिम्मेवारी सम्हाले

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले पदभार ग्रहण गरेका छन् ।

बिहीबार डा.लामाले लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा पदभार ग्रहण गरेका हुन् । डा.लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गरेका छन् ।

डा.लामाले लुम्बिनी जस्तो पवित्र ठाउँको इज्जत जाने र बदनाम हुने कुनै काम नगर्ने बताएका छन् । उनले व्यक्तिगत लाभ लिने काम नगर्ने पनि बताएका छन् ।

उपाध्यक्ष डा.लामाले आफू लामो समयदेखि बुद्धमार्गमा रहेर बुद्धकै सन्देश फैलाउने काम गरेको बताएका छन् । उनले उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरसम्म प्रचार गर्ने बताएका छन् ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सीमित साधन स्रोतबाट काम भइरहेको बताएका छन् ।

पूर्वअर्थ राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका डा. लामा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

कार्यक्रममा कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानेन राई, आयोजना प्रमुख ई.सरोज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2023 August 11, 12:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया