भारतद्वारा नेपालका ४ परियोजनाका लागि अनुदानमा १७ करोड दिने

काठमाडौं । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा कार्यान्वयन हुने चार वटा (शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक) परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ ।

यी परियोजनाको अनुमानित लागत नेरु. १७ करोड रहेको छ । शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, दार्चुला जिल्लाको व्याँस गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, संखुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाको कार्यान्वयन क्रमश: शैल्यशिखर नगरपालिका, व्याँस गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले गर्नेछन् ।

यी परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाई सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ ।

सन् २००३ यता भारतले नेपालका सात वटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ ।

यसमध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

सबै परियोजनाको कूल लागत करिब नेरु. १२२० करोड (भारु.७६२ करोड) रहेको छ । यी परियोजनाहरू धेरै जसो नेपाल सरकारको स्थानीय निकाय मार्फत कार्यान्वयन भएका हुन् ।

Published : Friday, 2023 August 4, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया