माग सम्बोधन नगरे निर्माण व्यवसायीहरूले निर्माणको काम ठप्प पार्ने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आफूहरूका माग तत्काल सम्बोधन नगरे देशभर निर्माणको काम ठप्प पार्ने चेतावनी दिएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएर निर्माण व्यवसायीहरूले निर्माण उपकरणसहित धर्ना दिएका हुन् ।

निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्ती सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताएका छन् । उनीहरूले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे आन्दोलन थप चर्किने बताएका छन् ।

नेपाली कांग्रेसका सांसदसमेत रहेका निर्माण व्यवसायी पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने हो कि ठेक्का पट्टामा लाग्ने हो ? भन्दै प्रश्न गरेका छन् ।

तामाङले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने बताएका छन् ।

सांसद तामाङले निर्माण व्यवसायीहरू प्लेकार्डमा मात्रै एकत्रित हुने नभई जुनसुकै बेलामा एकत्रित हुनुपर्ने बताए । उनले छिटो काम सम्पन्न गर्नेकुरामा सबै निर्माण व्यवसायीहरू लाग्नुपर्ने बताए ।

लामो ग्याप गरेर भुक्तानी नरोक्न सरकारलाई सुझाव दिँदै उनले प्रत्येक महिनाको ग्याप राखेर रकम भुक्तानी गर्न आग्रह गरेका छन् ।

पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरू सरकारबाट नै ठगिरहेको आरोप लगाएका छन् । उनले सरकारको काम निर्माण व्यवसायीहरूले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने बताए ।

महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्कीले ढुंगामाटोसँग खेल्ने निर्माण व्यवसायीहरूलाई सडकमा आन्दोलन गर्न बाध्य नबनाउन सरकारसँग आग्रह गरेका छन् ।

उनले निर्माण व्यवसायीहरूलाई परेको दु:ख सबैको दु:ख भएकाले निर्माण व्यवसायलाई अघि बढाउन माग गरेको बताए । उनले सरकारले माग पूरा नगरे देशभर निर्माण ठप्प बनाउने चेतावनी दिए ।

महासंघका पूर्वअध्यक्ष रमेश शर्माले निर्माण व्यवसायीहरूका सम्पूर्ण माग जायज रहेकाले पूरा गर्नुपर्ने बताए । उनले आन्दोलन गरेको ६ दिन भइसक्दासमेत सरकारले आफ्ना मागप्रति चासो नदिएको भन्दै अर्को चरणको आन्दोलन चर्काउने बताएका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गर्नुपूर्व धेरै पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिवद्धता जनाए पनि सोअनुसार कार्यान्वयन गर्न नसकेको गुनासो गरेका छन् ।

उनले अघिल्ला सरकारले गल्ती गरेका हुन् भनेर गल्ती नसच्याइकन वर्तमान सरकार पन्छिन नपाउने बताए । अध्यक्ष सिंहले देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको भन्दै बजेट दिन नसक्ने आयोजना खारेज हुनुपर्ने माग गरेका छन् ।

Published : Friday, 2023 August 4, 3:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया