मर्यादाक्रमप्रति महानगरका सभापतिहरू असन्तुष्ट, सभापति देउवालाई बुझाए पत्र

काठमाडौं । नेपाली कांग्रेस महानगर समितिहरूले मर्यादाक्रमप्रति असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार महानगरपालिकाका सभापतिहरूले सभापति देउवालाई धुम्बाराहीस्थित निवासमा मर्यादा क्रम मिलाउन आग्रहसहितको ज्ञापन पत्र बुझाएका हुन् ।

काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगर समितिको संयुक्त बैठकले गरेको निर्णय अनुसार पार्टी नेतृत्वसँग मर्यादाक्रमको विभेद हटाउन माग गरिएको छ ।

कांग्रेसले महानगर सभापतिलाई पार्टीको ७१ औँ वरियतामा राखेको छ । महानगर कार्यसमितिका सभापतिहरूको बैठक शुक्रबार र शनिबार काठमाडौंमा बसेको काठमाडौं महानगर सभापति निलकाजी शाक्यले बताएका छन् ।

पार्टीको केन्द्रीय महासमिति र महाधिवेशनमा स्थानीय तहका समितिहरूबाट प्रतिनिधित्व हुने सुनिश्चितता गराउन विधानमा व्यवस्था गर्न सभापतिको ध्यानाकर्षण गरिएको काठमाडौं महानगरका सभापति शाक्यले बताएका छन् ।

स्थानीय तहका समिति अन्तर्गतका वडाहरूमा निर्वाचनमा उम्मेदवार छनोट गर्दा तत् तत् स्थानीय तहको पूर्ण अधिकार दिनुपर्ने महानगर समितिको पत्रमा उल्लेख छ ।

स्थानीय तह समितिको दायित्व र अधिकार पार्टी विधान र नियमावलीमा न्यून र समय सापेक्ष नभएको महानगर समितिको गुनासो छ ।

समय सापेक्ष हुने गरी, पदाधिकारीहरू समेतको काम, कर्तव्य र अधिकार विधानमा व्यवस्था गराउन मागपत्रमा भनिएको छ ।

शाक्य नेतृत्वको टोलीको मागपत्र बुझाएपछि सभापति देउवाले पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिएका छन् ।

Published : Tuesday, 2023 August 1, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया