कांग्रेसद्वारा ताप्लेजुङमा बाढीपहिरो प्रभावितलाई राहत वितरण, गाडीबाट बोराका बोरा खाद्यान्न झारियो

काठमाडौं । नेपाली कांग्रेस ताप्लेजुङले असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको जनाएको छ ।

कांग्रेसले आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको छ । जेठ ३२ देखि असारको पहिलो सातासम्म अबिरल वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित सिरीजंघा र सिदिङ्वा गाउँपालिकाका घरपरिवारलाई राहत वितरण जारी रहेकोे छ ।

सिदिङ्वा गाउँपालिकाको मेहेले र सुरुम्खिमका ९६ घरपरिवारलाई राहत वितरण भइसकेको तरुण दलका ताप्लेजुङका कार्यवाहक अध्यक्ष पृथ्वी पालुंवाले जानकारी दिएका छन् ।

प्रभावित परिवारलाई नुन, तेल, चामलसहितका खाद्यान्नका सामग्री वितरण गरिएको पालुंवाले बताएका छन् ।

सिदिङ्वाकै बाँकी परिवारलाई राहत वितरण गरिनेछ । यसअघि मैवाखोला गाउँपालिकाका पहिरो प्रभावितलाई कांग्रेसले राहत वितरण गरेको थियो ।

कांग्रेसले जनप्रतिनिधि, शुभेच्छुक संस्थालगायतबाट राहतका लागि सहयोग रकम सङ्कलन गरेको थियो । कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामले समेत राहत वितरणका लागि सहयोग गरेका छन् ।

बाढीपहिरोबाट प्रभावित परिवारको विवरण लिएर राहत वितरण गरिएको कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले बताएका छन् । ताप्लेजुङ जिल्लामा बाढीपहिरोबाट चार सय बढी परिवार प्रभावित बनेका छन् ।

Published : Tuesday, 2023 August 1, 11:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया