कांग्रेसले किसानका समस्या सुन्नै पर्छ : जीतजंग बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले किसानका समस्या जीउकातिउ रहेको बताएका छन् ।

सोमबार नेपाल किसान महासंघ ललितपुरले आयोजना गरेको जिल्ला कार्यसमिति परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले किसानका हक र अधिकारहरू नारामा सीमित रहेको बताए । उनले किसानका मागलाई व्यवहारमा पूरा गर्नुपर्ने बताएका छन् ।

‘सरकार असफल भएको हो कि भन्ने शंका लाग्न थालेको छ’, उनले भने, ‘किसानका उत्पादन सस्तोमा लिने । तिनै किसानलाई आवश्यक मल, बीउबिजन, औषधि महँगोमा बिक्री गर्ने यो कस्तो तरिका हो ?’

नेता बस्नेतले सरकार कालोबजारी नियन्त्रणमा उदासीन रहेको समेत आरोप लगाएका छन् ।

कांग्रेस पनि सरकारमा रहेको बताएका बस्नेतले किसानका पक्षमा काम गर्न नसक्ने हो भने कांग्रेसले सरकार छोड्नुपर्ने बताएका छन् ।

बस्नेतले भ्रष्टाचार बिरोधी अभियानमा कांग्रेस सरकारमा हुँदा वा नहुँदा बुलन्द आवाज उठाउँदै आएको बताएका छन् ।

ललितपुर कांग्रेसका सभापति जितेन्द्रकुमार श्रेष्ठले किसान महासंघ ललितपुरलाई किसानहरूको हकहित र अधिकारमा काम गर्दा पार्टीबाट चाहिने जस्तो सुकै सहयोग प्राप्त हुने बताएका छन् ।

नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले महासंघ किसानका हक र अधिकारका विषयमा एकताबद्ध रहेको बताए । तिमिल्सिनाले किसानले उत्पादन गरेका सामानको उचित बजार र मूल्य नपाउँदा कृषक सस्तोमै आफ्ना उत्पादन बेच्न बाध्य भएको बताए ।

किसान महासंघका ललितपुरका अध्यक्ष चक्र महर्जनले वीपीले २००८ सालमा स्थापना गरेको किसान संघ २०७८ मा किसान महासंघ बनेको बताए ।

कार्यक्रममा नेपाल किसान महासंघ ललितपुरको नयाँ कार्यसमिति घोषणा गरिएको छ । समितिको अध्यक्ष चक्र महर्जन चयन भएका छन् ।

उपाध्यक्ष रमेशप्रसाद बजगाईं, उपाध्यक्ष गोपाल कृष्ण महर्जन, सचिवमा उमा महत र ओमकार बोहोरा, कोषाध्यक्षमा शान्ति तण्डुकार, सह–सचिव गोपीबहादुर महर्जन चयन भएका छन् ।

सदस्यहरू सेशानन्द संजेल, तुल्सीराज महर्जन, रविन्द्र महर्जन, रमेश घिमिरे, उमा बिशुंखे, दीपशक्ति ब्यन्जनकार, इन्द्रदेवी महर्जन, गंगाराम डंगोल, दशराम महर्जन, रेवतीप्रसाद घिमिरे, मधु बिशंखे, हरिगोबिन्द महर्जन, बलराम खत्री, बीरेन्द्र महर्जन, लक्ष्मी महर्जन, बिक्रम लामा, किशोर महर्जन, रीता श्रेष्ठ, शुकमाया पहरी, भरत बस्नेत, दीपक महर्जन, शोभा लामा, श्यामलाल श्रेष्ठ चयन भएका छन् ।

महांकाल गाउँपालिकाका विनोदप्रसाद तिमिल्सिना, वागमती गाउँपालिकाका गुणराज बजगाईं, कोन्ज्योसोम गाउँपालिकाका भुवन लामा, महालक्ष्मी नगरपालिकाका गंगाराम महर्जन, गोदावरी नगरपालिकाका रामकृष्ण बानियाँ, ललितपुर महानगरपालिकाका राजु महर्जन पनि सदस्यमा मनोनयन भएका छन् ।

Published : Tuesday, 2023 August 1, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया